दुई बालकसहित तीन जनालाई कुल्चेर मारेको आरोपमा कार चालक थापा पुर्पक्षका लागि थुनामा


दुई बालकसहित तीन जनालाई कुल्चेर मारेको आरोपमा कार चालक थापा पुर्पक्षका लागि थुनामा

File Photo

नेपालगन्ज २२ वैशाख : नेपालगन्जमा कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कार चालक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० भृकुटीनगरका इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत चैत २७ गते आईतबार राती पौने १२ बजे सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा थापाले चलाएको कारले किच्दा सडकमा हिँडिरहेका तीन जना पैदलयात्रुको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा नेपालगन्ज–११ सुनारमण्डीकी ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय मोहम्मद कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली हलवाई थिए । समिना र कासिम नातेदार र अली हलवाई उनीहरूका छिमेकी हुन् । उनीहरु गर्मीको समय भएकाले रातीको खाना खाएर डुल्न निस्केका थिए ।

यही मुद्दामा बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । थापाले कार तीव्र गतिमा चलाएको हुँदा पैदलयात्रुलाई किचेको सिसीटिभी फुटेज तथा प्रमाण समेतको आधारमा अदालतले उनलाई थुनामा पठाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मुद्दाको सुनवाइमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, बाँकेका जिल्ला न्यायाधीवक्ता वासुदेव शर्मा, सहन्याधीवक्ता दामोदर गौतम, अधिवक्ताद्वय विश्वजित तिवारी र पुनम श्रेष्ठ र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरू सुनिल श्रेष्ठ, लोकबहादुर शाह र गणेश थारूले बहस गरेका थिए ।

सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरबाही तारिकाले सवारी चलाएर जानीजानी मारेको अवस्था रहे जन्मकैदको सजायको समेत व्यवस्था रहेको अधिवक्ता बलबहादुर चन्दले बताए ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय, बाँकेले दुर्घटनाका बेला चालकले मादक पदार्थ सेवन गरेको बताएको थियो । चालक थापाले चलाएको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले सडकको छेउमा हिँडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा समय लागेको थियो । कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई सोही कारमा राखेर चालकले नेपालगन्ज मेडिकल कलजे नर्सिङहोम पु¥याएका थिए ।

अस्पताल पु¥याएको १५ मिनेटमै चिकित्सकले तीनैजनालाई मृत घोषणा गरेका थिए ।

बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी लगायतको समूहले कानूनी सहयोग गरेको छ । संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरूका लागि निःशुल्क कानूनी सेवा प्रदान गर्दै आएको छ ।