नेपालगन्जमा भोट हालेर घर फर्केको एक घण्टामै मतदाता विते


नेपालगन्जमा भोट हालेर घर फर्केको एक घण्टामै मतदाता विते

नेपालगन्ज ३० वैशाख : शुक्रबार भएको स्थानीय तह निर्वाचनमा मतदान गरेर घर फर्के लगत्तै नेपालगन्जका एक मतदाताको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २१, पुरैनामा मतदान गरि घर फर्केकी एक बृद्धाको मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेकी नेपालगन्ज २१, पुरैना निवासी ६५ वर्षिया बृद्धा सोनापती काँदूको शुक्रबार अपरान्ह ५ बजे मृत्यु भएको हो ।

मतदान पछि घर फर्के लगत्तै आमाको मृत्यु भएको सोनापती काँदूका छोरा अशोक काँदूले पुष्टि गरे । सेतोखरीसंग कुरा गर्दै अशोकले भने–‘आमा पहिलेदेखि नै अस्वस्थ हुनुहुन्थ्यो, मतदान गरेर घर फर्केको एकघण्टामै आमा वित्नुभयो ।’

छोरा अशोकका अनुसार सोनापती विगत ३ महिनादेखि अस्वस्थ थिइन् । आफू अस्वस्थ्य भएपनि मतदान गर्ने ईच्छा राखेकी आमालाई छोरा अशोकले मतदान स्थलमा ल्याएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘मतदान गरेर आमा वित्नु भयो’ सेतोखरीसंग कुरा गर्दै अशोकले भने–‘निर्वाचनमा आमाले भोट दिने ईच्छा राख्नु भएको थियो । मतदान गर्नु नै उहाँ (आमा) को अन्तिम ईच्छा रह्यो ।’

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ कुल २ हजार ९ सय ३४ मतदान भएकोछ । जम्मा ३ हजार ६ सय ६८ मतदाता रहेकोमा उक्त मतदाताले मतदान गरेका हुन् ।