दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हालेका प्रशान्त नेपालगन्जको मेयर चुनिए


दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हालेका प्रशान्त नेपालगन्जको मेयर चुनिए

नेपालगन्ज ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएकाछन् । विष्ट काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।

२०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली ‘चस्का’ त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले देश आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो ।

२०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । जो २०७४ को स्थानीय तह निर्वाचनबाट अत्यधिक बहुमतले नेपालगन्जको मेयरमा विजयी बने ।

युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको बाँकेको राजनीतिक वृत्तमा जहिले पनि प्रशंसा हुनेगर्छ । २०६२/०६३ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको कडा निगरानीमा प्रशान्त परे ।

Kids Festival 2022
kanti aarogya hospital

सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो । ‘एकदिन त म (प्रशान्त), डाक्टर अरुण कोइराला(स्वर्गीय बाँके काँग्रेस सभापति), रत्न खत्री(एमाले नेता) लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त विगत सम्झिन्छन् ।

दोस्रो जनआन्दोलन २०६२/०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् । दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व र सशक्त बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदैँ गए । उनको लोकप्रियता बढ्यो । जनताका माझ परिचित प्रशान्त, जनताकै बहुमत पाएर नगरपिता(नगर प्रमुख)का रुपमा चुनिए ।

‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त विगतलाई संम्झदै भन्छन् ।

राजनीतिमा लगनशील भएर संघर्षशील युवा नेता प्रशान्त नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुखमा विजयी भएका हुन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत उनलाई जिताउने अभियान नै चलाएका थिए ।

सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रसार गरिएको थियो ।

संयोग नै मान्नुपर्छ, २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति यसपटक मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका थिए । तर, लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धामा लोकतन्त्र ल्याउन दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हालेका प्रशान्त विजयी भए ।

विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतान्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मतमा समेटिए ।

यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए । गठबन्धनकै अर्का उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई उपप्रमुखमा निर्वाचित भए ।

राईले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरिन् ।

थप समाचार

एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका

सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त

दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’

नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखी तयारी