नेपालगन्ज ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएकाछन् । विष्ट काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।
२०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली ‘चस्का’ त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले देश आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो ।
२०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट । यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । जो २०७४ को स्थानीय तह निर्वाचनबाट अत्यधिक बहुमतले नेपालगन्जको मेयरमा विजयी बने ।
युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको बाँकेको राजनीतिक वृत्तमा जहिले पनि प्रशंसा हुनेगर्छ । २०६२/०६३ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको कडा निगरानीमा प्रशान्त परे ।
सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो । ‘एकदिन त म (प्रशान्त), डाक्टर अरुण कोइराला(स्वर्गीय बाँके काँग्रेस सभापति), रत्न खत्री(एमाले नेता) लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त विगत सम्झिन्छन् ।
दोस्रो जनआन्दोलन २०६२/०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् । दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व र सशक्त बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदैँ गए । उनको लोकप्रियता बढ्यो । जनताका माझ परिचित प्रशान्त, जनताकै बहुमत पाएर नगरपिता(नगर प्रमुख)का रुपमा चुनिए ।
‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त विगतलाई संम्झदै भन्छन् ।
राजनीतिमा लगनशील भएर संघर्षशील युवा नेता प्रशान्त नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुखमा विजयी भएका हुन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत उनलाई जिताउने अभियान नै चलाएका थिए ।
सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रसार गरिएको थियो ।
संयोग नै मान्नुपर्छ, २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति यसपटक मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका थिए । तर, लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धामा लोकतन्त्र ल्याउन दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हालेका प्रशान्त विजयी भए ।
विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतान्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मतमा समेटिए ।
यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए । गठबन्धनकै अर्का उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई उपप्रमुखमा निर्वाचित भए ।
राईले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरिन् ।
थप समाचार
एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका
सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?