एक ब्राम्हणको ‘टुप्पी’ फिरोज मियाले काटिदिए, दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी


एक ब्राम्हणको ‘टुप्पी’ फिरोज मियाले काटिदिए, दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

मोरङ ६ जेठ : देशभर सबैको ध्यान चुनावी परिणाममा छ । जितेकाहरू हर्षबढाइँ गरिरहेका छन् । परिणाम नआइसकेका ठाउँमा कसले जित हार हुन्छ भन्ने चासो छ । तर, कटहरीका एक ब्राम्हणलाई भने आफ्नो टुप्पी थाहै नपाइ अर्कैले काटिदिएको पीडामा छन् ।

४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै मोरङ कटहरी–४ घर भइ विराटनगर १२ बस्दै आएका ५२ वर्षीय मनोज शर्मा प्रहरीसँग गुहार माग्न पुगेका छन् । टाउकोदेखि कम्मरसम्म लामो आफ्नो ‘टुपी’ काटिदिने मान्छेलाई कारवाही गर्नुपर्ने उनको माग छ ।

शर्माको टुपी मोरङको कटहरी गाउँपालिका ४ का फिरोज मियाले काटिदिएको आरोप छ । मियाले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैँचीले जबरजस्ती काटिदिएको शर्माको भनाइ छ ।

शर्मा विराटनगर बस्दै आएपनि उनको कटहरी ४ मा खेतीयोग्य जग्गा जमिन छ । उनी खेतीयोग्य जमिनको रेखदेख गर्न कटहरी जाने गर्छन् । सिँचाइ नहुने भएकोले खेतीयोग्य जमिनको लागि उनले पानी तान्ने मोटर खेतमै राखेका छन् । ‘एक दिन खेतमा राखेको मोटर चोरी भयो । चोरी भएको मोटर फिरोज मियाले लिएर हिँडेको हामीले रंगेहात फेला पार्यौं,’ शर्माले भने, ‘हामीले चोरी गर्नेलाई कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका थियौं । उजुरी परेपछि फिरोजले हामीलाई प्रहरीमा दिएको निवेदन फिर्ता लिएर मिल्न दबाब दिँदै आएका थिए । त्यही उजुरी फिर्ता निलिएको भन्दै १३ वैशाखमा राती कटहरी घरमा बसेको मलाई सडकमा ल्याएर मेरो टुपी काटिदिएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

अहिले उनी काटिएको टुप्पी हातमा बोकेर मोरङ प्रहरीमा कारबाहीको लागि आउने गरेका छन् । ‘प्रहरीमा उजुरी त लियो । तर, अहिलेसम्म टुपी काट्ने मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन,’ बुधबार टुप्पी बोकेर मोरङ प्रहरी परिसर बाहिर भेटिएका शर्माले भने, ‘मेरो चार दशकदेखि पालेको टुपी काट्नेलाई कडा कारवाही हुनुपर्दछ ।’ आफू गुरुकुलमा अध्ययन गरेको ब्राम्हण भएकोले टुप्पी पाल्ने आफ्नो परम्परा रहेको उनले सुनाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’ -रातोपाटीबाट