नेपालगन्ज ११ जेठ : बाँकेको कोहलपुर बुधबार छुट्टाछुट्टै मृत्युका खबरले तनावग्रस्त बन्यो । जबरजस्ती करणी आरोपमा हिरासतभित्रै रहेका थुनुवा र भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्युको खबरले कोहलपुर बुधबार दिनभर तनावग्रस्त बनेको हो ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले कोहलपुर सडक अवरुद्ध गरेका थिए । उनीहरुले सडक अवरुद्ध पार्नुका साथै कुनैपनि सवारी साधन चल्न दिएका थिएनन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा थुनुवा मृत अवस्थामा भेटिएपछि बुधबार विहानै कोहलपुर तनावग्रस्त बनेको थियो ।
जबरजस्ती कारणीको आरोपमा ईलाका प्रहरी कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१४ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
हिरासत कक्षबाट शौचालय गएका कुँवर भेन्टिलेटरमा टिसर्टको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार बुधबार बिहान करिब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय र आफन्तको रोहबरमा मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएकोछ ।
कुँवरलाई गत बैशाख १९ गते ७ वर्षे नावालिकालाई जबरजस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिएर थुनिएको थियो । ‘जबरजस्ती करणी उद्योग’ को आरोपमा प्रहरी हिरासतभित्र रहेका कुँवरलाई म्याद थप गरेर आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको थियो ।
बलात्कार आरोपमा हिरासत भित्रै कुँवरको मृत्युले कोहलपुर तनावग्रस्त भइरहेका बेला बुधबार दिउँसो पौने एक बजे अर्को मृत्युको खबरले पुनः कोहलपुर तनावग्रस्त बन्यो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरदेखि केही पर दक्षिणतर्फ कोहलपुर नगरपालिका वडा नम्बर–११ पिपल चौतारामा भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएपछि कोहलपुर पुनः तनावग्रस्त बन्यो ।
भारतीय यूपी ३२ डीएन ४३४४ नम्बरको ट्रकको ठक्करले गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भयो ।
भारतीय ट्रकले भे १ स ४९४१ नम्बरको अटोलाई ठक्कर दिएको थियो । प्रहरीले दुबै सवारी साधनसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
दुबै घटनाको विरोध गर्दै मृतकका आफन्त र स्थानीय बासिन्दाले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपुर्ति माग्दै सडक अवरुद्ध गरे । सोक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर अगाडी मृतकका आफन्त तथा स्थानीयले सडक अवरुद्ध गर्नुका साथै सडक अवरुद्ध गरेका थिए ।