फुल्टेक्रा स्थित फैजाने मदरसामा चक्कु रोपिएर एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप


फुल्टेक्रा स्थित फैजाने मदरसामा चक्कु रोपिएर एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

नेपालगन्ज १४ जेठ : नेपालगन्जको फुल्टेक्रा स्थित मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका एक विद्यार्थीको चक्कु रोपिएर मृत्यु भएकोछ । मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुद्दिन मियाँको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फुल्टेक्रा स्थित उक्त मदरसामा १६ वर्षिय जामुद्दिनको मृत्यु भएको पुष्टि गरे । प्रवक्ता न्यौपानेका अनुसार मादरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको छातिमा चक्कु रोपिएर उपचारका क्रममा ज्यान गएको हो ।

गत जेठ १२ गते बेलुका ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए ।

खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिलानै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे कुनै जानकारी गराएको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएका मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले सेतोखरीलाई जानकारी दिए । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजे मृत्यु भएको हो । प्रहरीलाई घटनाबारे जेठ १४ गते बिहान मात्र जानकारी भयो ।’

घटना घटे लगत्तै मियाँलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । चक्कु रोपिएर गम्भीर घाइते भएका मियाँको अवस्था झन् जटिल बनेपछि १३ गते शुक्रबार चिकित्सकसहितको एम्बुलेन्समा राखेर थप उपचारका लागि लखनऊ लगिएको थियो । लउखनऊ लगिएका मियाँको सोही दिन राती १० बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सीसीटिभी फुटेजमा मृतक मियाँ र आशिक दुबैले आफ्नो छाति एकअर्काको छातिमा ठोक्काएर धकेला धकेल गर्दै जिस्किने गरेको देखिन्छ । सोही क्रममा एक्कासी मियाँको छातिमा आशिकले चक्कु रोपिएको सीसीटिभी फुटेजमा प्रष्ट देखिन्छ । मियाँको छातिमा चक्कु रोपिए लगत्तै आशिकको हातमा चक्कु हुन्छ । कपडा खोलेर हेर्दा रगत बगेको उक्त सीसीटिभि फुटेजमा देखिन्छ ।

प्रहरी नायब उपरीक्षक न्यौपानेले सेतोखरीसंग भने–‘एकआपसमा खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो ? योजनाबद्ध भएको घटना हो वा भवितब्य हामी(प्रहरी)ले अनुसन्धान गरिरहेकाछौं ।’

घटना घटेको दुईदिनपछि मात्रै घटनाका बारेमा प्रहरीले थाहापाएपछि मदरसा फैजाने मदिनाले उक्त घटना गुपचुप राख्न खोजेको प्रहरीले जनाएकोछ ।

उनले घटनामा संलग्न रहेको आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव भारतको लखनउबाट नेपालगन्ज ल्याई भेरी अस्पतालमा पोष्टमार्टम गरिसकेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने –‘मियाँको पोष्टमार्ट भइसकेको छ । शव आफन्तले बुझिसक्नुभएको छ । तर, पोष्टमार्टमको रिर्पोट आउन बाँकी छ ।’

उनले घटनामा संलग्न आशिक प्रहरी नियन्त्रणमा राखि अनुसन्धान अघि बढाएको बताउँदै । मृतकका परिवारले मियाँको शव बुझे पनि शनिबार बेलुका ८ बजेसम्म प्रहरीमा कुनै जाहेरी नपरेको बाँके प्रहरीले बताएकोछ ।