सुन्दर मृत्यु घटना : छानबिन गर्न गृहले बनायो समिति, रोल्पा जाँदै अधिकारकर्मीको टोली


सुन्दर मृत्यु घटना : छानबिन गर्न गृहले बनायो समिति, रोल्पा जाँदै अधिकारकर्मीको टोली

न्यायका लागि संघर्षरत रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको आमा, दाई र भाउजु । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज १७ जेठ : गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा यही जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् ।

गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको छ ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ । कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु घटनाका सम्बन्धमा घटनाको अनुगमन गर्न बाँकेबाट अधिकारकर्मीको टोली रोल्पा जान लागेकोछ । नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलका सुन्दर हरिजन मृत्युको घटनाको बास्तविकता बुझ्न नेपालगन्जबाट अधिकारकर्मीहरुको एक टोली रोल्पा जान लागेका हो ।

घटनाको अनुगमनका लागी इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगन्ज उच्च अदालत बार एशोसिएसन मानवअधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्र प्रसाद पौडेल समेतको टोली भोली (जेठ १८ गते) बुधवार बिहान रोल्पा जान लागेको छ ।

टोलीले रोल्पा कारागार, प्रहरी र प्रशासन प्रमुखसंग भेटी घटनाको सत्य तथ्य बुझ्ने छ । यस अघि अनुगमन टोलीले पीडित परिवार, बाँके कारागार, प्रशासनसंग घटनाबारे जानकारी लिइसकेकोछ ।

चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको २०७९ जेठ ४ गते साँझ करिब ६.३० बजे कारागारकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युको घटना संकास्पद बनेको बाँकेका अधिकारकर्मीले विज्ञप्ती जारी गरि बताएकाछन् ।

चोरी मुद्दाको पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्नु पर्नेमा निजको नामबाट हातहतियार तथा खरखजाना मुद्धाका बिजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवारजनले आशंकाको रुपमा लिएका छन् ।

अनुगमन टोलीले पीडित परिवार लगायत घटना सम्बद्ध पक्षसंग भेटघाट गरि स्थलगत प्रतिवेदन सार्वजनिक गर्ने जनाएकोछ ।