रुपन्देही बस दुर्घटना : मृतक ९ मध्ये ६ जनाको पहिचान खुल्यो

उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन


रुपन्देही बस दुर्घटना : मृतक ९ मध्ये ६ जनाको पहिचान खुल्यो

नेपालगन्ज २२ जेठ : रुपन्देहीको रोहिणी नदीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ६ जनाको सनाखत भएको छ ।

रूपन्देहीका प्रहरी प्रमुख, एसपी रविन्द्र रेग्मीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्माको पहिचान भएको हो । अन्यको पहिचान हुन बाँकी छ ।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुबस आईतबार बिहान ४ः४५ बजेतिर रोहीणी गाउँपालिका–३ भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलमा दुर्घटना भएका थियो । दुर्घटनामा थप २४ जना घाइते भएका छन् । घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

लुम्बिनी प्रदेश प्रहरी प्रमुख, डीआईजी नलप्रसाद उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताए । बाँकीको सनाखत हुन बाँकी छ । बसमा सवार ३३ जना सबै घाइते छन् ।

उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी उनले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डाक्टर शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे ।