जन्मदिनको बहानामा बोलाएर १६ वर्षीया बालिकालाई ७ जनाले गरे सामुहिक बलात्कार


जन्मदिनको बहानामा बोलाएर १६ वर्षीया बालिकालाई ७ जनाले गरे  सामुहिक बलात्कार

नेपालगन्ज २३ जेठ : बाँकेमा एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेकाछन् । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना बालकसहित ७ जनालाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ४ बस्ने अन्दाजी १६ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारमा संलग्न आरोपमा बैजनाथ गाउँपालिका–८ झिगौरा बस्ने तीन जना बालकसहित ७ जना युवालाई आईतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार बालिका बलात्कार आरोपमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौरा बस्ने अन्दाजी २४ वर्षका बिक्रम भन्ने बिक्रान्त थारु, अन्दाजी २५ वर्षका निराजन थारु, अन्दाजी २३ वर्षका राजकुमार थारु र अन्दाजी २० वर्षका बिश्वनाथ थारुलाई पक्राउ गरेको हो ।

यस्तै पक्राउ पर्ने तीजना बालक रहेकाछन् । प्रहरीले बैजनाथ गाउँपालिका वडा नम्बर –८ झिगौरा बस्ने १६ वर्षका (ग) बालक र सोही वडा बस्ने १७ वर्षिय दुई जना (क र ख) बालकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने तीन जना १८ वर्ष मुनि रहेकाले प्रहरीले उनीहरुको परिर्वतित नाम (क, ख र ग) राखेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा बलात्कृत बालिकालाई मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय बालकले फेसबुकमार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारूलगायत पाँच जनाले बलात्कार गरेको खुलेको छ । यसबाहेक २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना यस्तो थियो

जेठ २२ गते बिहान अन्दाजी ४ बजेको समयमा बाँकेको खजुरा गाँउपालिक वडा नम्बर –५ प्रतिक्षालय चोकमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पश्चिमबाट पुर्बतर्फ गईरहेको ३ जना सवार भे ३ प ३५२७ नम्बरको पल्सर मोटरसाईकलको बीचमा लठ्ठीएको अवस्थामा बालिकालाई प्रहरीले पाएपछि मोटरसाईकलसहित बालिका र मोटरसाईकल चलाउने २० वर्षका विश्वनाथ थारु तथा मोटरसाईकलमा सवार बालकलाई ईलाका प्रहरी कार्यालय धनौलीमा ल्याएर अनुसन्धान गर्दा बालिका बलात्कृत भएको रहस्य बाहिर आएको हो ।

प्रहरीका अनुसार पीडित बालिकाले दिएको बयान अनुसार बिगत १ वर्ष देखी फेसबुकमा चिनजान भएका बालक (१७ वर्षका)ले आज मेरो जन्म दिन छ भनी जेठ २१ गते बेलुका अन्दाजी ४ बजे बाँकेको खजुरा गाँउपालिका वडा नम्बर– ६ मानखोला नजिक बोलाई त्यहाँबाट आफ्नो साथीसहित मोटरसाईकलमा राखी बर्दिया जिल्लाको मानखोला नजिकैको जंगलमा लगी अन्य ४/५ जनाको समुहले घरेलु मदिरा मगाई मलाई समेत सेवन गराई सोही दिन साँझ अन्दाजी ६ बजेदेखी सोही राती १२ बजेसम्म सामुहिक रुपमा बलात्कार गरे ।

४/५ जनाको समुहले पटक–पटक लामो समयसम्म बलात्कार गर्दा आफू बेहोस भएको र पछी होसमा आउँदा त्यहाँबाट आफूलाई २/३ जनाको समुहले बोकी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–८ पिपरी भन्ने स्थानमा लगि बिक्रम भन्ने बिक्रान्त थारुको बँगुर पालन नजिकको टिनको टहरामा फेरी बलात्कार गरेको बालिकाले बयान दिएको बाँके प्रहरीले बताएकोछ ।

दोस्रो पटक मलाई २ जनाले सामुहिक बलात्कार गरी सकेपछी बिक्रान्त थारुले अन्य २ जना मानिसहरु बोलाई बिक्रान्त थारुको मोटरसाईकलको बिचमा बालिकालाई राखी घर पुर्याउन भनी गईरहेका बेला प्रहरीको चेकिङ टोलीले फेला पार्दा घटना बाहिरीएको हो ।

प्रहरीका अनुसार पीडित बालिकाले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय धनौलीबाट बलात्कारमा संलग्न तीन जना बालकसहित ७ जनालाई खोजतलासगरि पक्राउ गरेको बताएको छ । पक्राउ परेका ७ जनालाई हिरासतमा राखि थप अनुसन्धान अघि बढेको बाँके प्रहरीले जानकारी दिएकोछ ।

नेपालको कानूनले बलात्कारलाई कसरी परिभाषा र व्याख्या गरेको छ ?

बलात्कारलाई हाम्रो कानूनले जबरजस्ती करणी भनी बुझ्छ । यसलाई मुलुकी अपराध संहिता २०७४ ले स्पष्टसँग ब्याख्या गरेको छ । संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुर अन्तर्गत दफा २१९ को (२) मा ‘कसैले कुनै महिलालाई मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिए पनि १८ बर्ष भन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनेर लेखिएको छ ।

शारीरिक क्रीडा मात्र नभई शरीरमा कुनै वस्तु प्रविष्ट गराइए पनि त्यसलाई जबर्जस्ती करणीको श्रेणीमा राखिएको छ । बलात्कारसँग मुख्यतः दुईवटा कुरा जोडिएका छन् । एउटा मन्जुरी अर्काे उमेरको हदबन्दी ।

मन्जुरी केलाई मान्ने ? केलाई नमान्ने ?

मन्जुरीलाई कानूनमा प्रष्ट पार्न खोजिएको छ । मन्जुरीबारे स्पष्टीकरणमा भनिएको छ– ‘करकाप, अनुचित प्रभाव, डर–त्रास, झुक्यानमा पारी, अपहरण गरी वा शरीर बन्धक बनाई लिइएको मन्जुरीलाई मन्जुरी मानिने छैन । होस् ठेगानमा नभएका बेला लिइएको मन्जुरीलाई पनि मन्जुरी मानिने छैन । मन्जुरी पनि निस्वार्थ हुनुपर्यो । स्पष्ट हुनुपर्यो । अनुचित प्रभावमा पारिएको हुनुभएन । यो सबै प्रावधानले दुबैजनाको सहमति र राजीखुशीमा गरिएको क्रीडालाई मात्र कानूनले सहवास मानेको छ । १८ वर्ष उमेर नपुगेको हकमा मन्जुरीको कुरै हुदैन । नाबालिगलाई सहमतिमा यौनसम्पर्क गरे पनि उजुरी परेमा त्यो बलात्कार नै ठहरिन्छ ।

-१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनाको उमेर १८ वर्ष मुनि रहेकोले उनीहरुको नाम खुलाइएको छैन । सं.