अछाम विनोद मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन मानेन, ४ दिनदेखि शव घटना स्थलमै

दोषीलाई कारबाही नगरे कडा आन्दोलनको चेतावनी


अछाम विनोद मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन मानेन, ४ दिनदेखि शव घटना स्थलमै

नेपालगन्ज २४ जेठ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय बालक विनोद शाहीको शव ४ दिनदेखि उठाइएको छैन । जेठ १७ गते बेलुकादेखि हराइरहेका विनोद पाँच दिनपछि जेठ २१ गते विहान मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर–४ कुच्चीको भिरको खोँचमा मृत अवस्थामा फेला परेका थिए ।

हराइरहेका विनोदको शव भेटिएपछि उनको हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै विनोदका आफन्त र स्थानीयबासी आन्दोलित छन् ।

विनोदको हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दिँदा समेत प्रहरी प्रसाशनले किटानी जाहेरी दर्ता गर्न मानेको छैन । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि विनोदका परिवार र स्थानीयबासीले शव उठाउन दिएका छैनन् ।

नगरप्रमुख अम्बिका चलाउने, वडा नम्बर ४ का निर्वतमान वडाअध्यक्ष सज्जन बहादुर शाहीसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको मङ्गलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा विनोदका आफन्तले बताएका छन् । किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ ।

Kids Festival 2022
kanti aarogya hospital

मृतक विनोदका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन् । निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए । सोही कारण उनको हत्या भएको विनोदका दाजु बखत बहादुर शाहीले आरोप लगाए ।

पाँच दिनदेखि बेपत्ता रहेका किशोर मृत भेटिए पनि नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि घटनास्थलमा एक पटक पनि उपस्थित नभएका कारण पनि शङ्का बढ्दै गएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै विनोदका अर्का दाजु सुशान्त विक्रम शाहीले नगरप्रमुख अम्बिका चलाउने र निर्वतमान वडाअध्यक्ष सज्जनबहादुर शाहीको ग्राण्ड डिजाइनमा भाइको हत्या गरिएको बताए । ‘भाइको हत्यामा अछामका डिएसपी रविराज थपलिया, नेपाली काँग्रेसका महासमिति सदस्य सुरत विष्टहरुको समेत संलग्नता छ’ सुशान्तविक्रमले भने–‘उनीहरुको नामसहितको किटानी जाहेरी दिदाँ दर्ता गरिएन, हुलाकबाट पठाउँदा समेत जाहेरी दर्ता भएन ।’

‘जाहेरी दर्ता नहुन्जेल हामी शव उठाउँदैनौ र उठाउन पनि दिदैनौं’ सुशान्तविक्रमले भने–‘जाहेरी दर्ता गराउन जाँदा समेत प्रहरी, प्रशासनले वेवास्ता गरिरहेकोछ । बालकको हत्यामा समेत राज्यले गैजिम्मेवार भूमिका खेल्दा सरकार मौन छ । कसरी न्याय पाउने ?’

विनोदको हत्यारालाई कारबाही नगरिए देशभर आन्दोलन सशक्तरुपमा अगाडी बढाउने अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य एबम नेपालगन्ज ईन्चार्ज मर्मजङ्ग बमले चेतावनी दिए ।

‘राजनीतिक लाक्षना लगाएर बालकको हत्या हुँदासम्म राज्य गैरजिम्मेवाररुपमा अघि बढिरहेकोछ’ उनले भने–‘बालबालिकाको हत्या हुनु गम्भीर विषय हो, घटना घटेको हप्तादिन पुग्दासमेत राज्यबाट बेवास्ता भइरहँदा न्यायका लागि सशक्त आन्दोलन गर्नेछौं ।’

‘यथाशिघ्र जाहेरी दर्ता गरियोस्, विनोदका हत्याराला पहिचान गरि कारबाही गरियोस् अन्यथा यसका विरुद्ध कडा कदम चाल्ने छौं यसको जिम्मेवार स्वयम सरकार हुनेछ’ चेतावनी दिदैँ बमले भने ।

यस्तै पत्रकार सम्मेलनम नेपालगन्ज बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिकाका स्थानीयसमेत रहेका टंक धामीले पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासिनताले प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको भन्ने आशंका पैदा भएको बताए ।

‘घटनाको निष्पक्ष अनुसन्धान गर्दै यथाशीघ्र दोषीलाई पक्राउ गरी हदैसम्मको कारवाहीका लागि हाम्रो माग छ, अन्यथा आन्दोलन सशक्त बनाए लानेछौं’ धामीले बताए ।

विनोद शाही हत्याका दोषीलाई कारबाहीको माग गर्दै भोली बुधबार विहान १० बजे नेपालगन्जमा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बेपत्ता रहेका किशोर मृत भेटिएपश्चात् विनायक क्षेत्र तनावग्रस्त छ । विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन् । विनायक बजारमा चर्केको प्रदर्शन नियन्त्रणमा लिन शनिबार प्रहरीले ८ राउण्ड हवाई फायरसमेत गरेको थियो । अहिले पनि स्थानीयले सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । मध्य पहाडी लोकमार्ग शनिवारदेखि पूर्ण रुपमा अवरुद्ध छन् । यसका लागि यात्रुहरूले सास्ती भोगिरहेका छन् । यस्तै विनायक क्षेत्रका पसल, कार्यालयहरू पनि बन्द छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । विवादका क्रममा काँग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि काँग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।