जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने


जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

बैतडी २९ जेठ : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

‘कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुन्धान थालिएको हो’, उनले भने, ‘केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।’ जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिए । उनले भने, ‘नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।’ -रासस