बाँके प्रहरीको एन्टिड्रग अपरेशन : २४ ग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ


बाँके प्रहरीको एन्टिड्रग अपरेशन : २४ ग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ

नेपालगन्ज २९ जेठ : बाँके प्रहरीले एन्टिड्रग अपरेशनलाई तिव्रता दिएकोछ । बाँके प्रहरीले एन्टिड्रग अपरेशनमार्फत जिल्लामा लागुऔषध सेवनकर्ता, ओसारपसार तथा कारोबारीलाई निस्तेज र पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको हो ।

एन्टिड्रग अपरेशन अन्र्तगत बाँके प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको छ । लागु औषधसहित पक्राउ पर्नेमा २ बालकसहित पाँच जना रहेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार सीमानाका जमुनाहबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

‘गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको रुपैडिहा बजारदेखि नेपालतर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको हो’ सेतोखरीलाई जानकारी दिदैँ डिएसपी न्यौपानेले भने –‘फरक–फरक समयमा पक्राउ परेका उनीहरु पाँचै जना दाङ जिल्लाका रहेकाछन् ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नम्बर ५ बस्ने सोनु श्रेष्ठ, २० वर्षीय विशाल कुँवर, २१ वर्षिय दिवस डाँगी र १७ वर्षका २ जना बालक रहेकाछन् ।

शनिबार राती पौने ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका सोनु र विशाललाई नियन्त्रणमा लिइ चेकजाँज गर्दा उनीहरुले बोकेको गुडियाभित्र लुकाइ ल्याएको ७ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यस्तै प्रहरीले शनिबार राती नै साढे १० बजे १७ वर्षिय दुई बालक र दिवसलाई नियन्त्रण्मा लिइ चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा सेतो प्लाष्टिकको पोकामा लुकाइ राखेको १७ ग्राम ब्राउन सुगरको १८ वटा पुडिया बरामद गरेको थियो ।

फरक–फरक समयमा ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।