डिएसपी मल्लको ‘सुन अप्रेसन’

सुन भन्दै चाँदीको गहनामा सुनको जलप लगाएर गहना विक्री गर्ने गिरोह पक्राउ


डिएसपी मल्लको ‘सुन अप्रेसन’

नक्कली सुनचाँदीका गरगहनासहित पक्राउ परेका गिरोह ।

कोहलपुर ३ असार : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्ल नक्कली सुनको गरगहना बनाई ठगी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएकाछन् । डिएसपी मल्लले ‘सुन अप्रेसन’ चलाएर कोहलपुर क्षेत्रमा नक्कली सुनको गरगहाना बनाई सर्वसाधरण र सुन ब्यापारीलाई समेत ठगि गर्ने गिरोहलाई पक्रिन सफल भएका हुन् ।

कोहलपुर क्षेत्रमा सुनका विभिन्न गरगहना सस्तोमा बेची सर्वसाधरण र सुन ब्यापारीलाई ठग्ने गिरोह सक्रिय भएपछि डिएसपी मल्लको कमाण्डमा परिचालित ‘सुन अप्रेसन’ले ठूलो सफलता पाएको हो ।

लामो समयदेखि नक्कली सुन र चाँदीका गरगहनाबाट कोहलपुर क्षेत्रका सर्वसाधरण तथा सुन ब्यापारीनै ठगिएको सूचना पाएको प्रहरीले नक्कली सुनका गरगहना बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिन सुन अप्रेसन चलाएको थियो । जसको नेतृत्व स्वयम कोहलपुर ईलाका प्रहरीका प्रमुख डिएसपी ऐनबहादुर मल्लले गरेका थिए ।

कोहलपुर क्षेत्रमा नक्कली सुनका गरगहना सुन पसलमा बिक्री गरि रकम ठगि गरिरहेका छन् भन्ने सूचना पाएका डिएसपी मल्लले आफ्नो एरियाभित्र हुने अपराधिक गतिविधि निश्तेज पार्न घटनाको सुक्ष्म अनुसन्धान गर्दै ‘सुन अप्रेसन’ चलाएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नक्कली सुन र चाँदीका गरगहना सुन पसलमै गइ बिक्री गर्ने र रकम ठगि गर्ने गिरोहमाथि निगरानी बढाइरहँदा कोहलपुर प्रहरीले हिजो बिहीबार बेलुका ४ बजे बैजनाथ गाउँपालिका वडा नम्बर–६ सम्झना बजारबाट नक्कली सुन र चाँदीका गरगहना सुन पसलमै गएर विक्री गरिरहेका ७ जनालाई पक्राउ गर्न सफल भयो ।

पक्राउ पर्ने ७ जनासंग नक्कली सुन र चाँदीका विभिन्न गरगहना, गरगहना बनाउन प्रयोग हुने औजार र केही नगद प्रहरीले बरामद गरेकोछ ।

कोहलपुर नगरपालिका वडा नम्बर–२ बस्ने ४२ वर्षीया निर्मला बोहरा, कोहलपुर नगरपालिका वडा नम्बर–६ बस्ने २३ वर्षीया मनुराधा बपाल मगर, खजुरा गाउँपालिका वडा नम्बर–२ बस्ने तिलक सुनार र अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्बर– २ पोखराथोक घर भइ हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ बस्ने ३३ वर्षीय सन्तोष सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै कोहलपुर वडा नम्बर–१ बस्ने २७ वर्षीय नवराज विश्वकर्मा, बैजनाथ गाउँपालिका वडा नम्बर –२ बस्ने १९ वर्षीय दिनेश सुनार, भुवनपइखरी गाउँपालिका वडा नम्बर–६ पाल्पा बस्ने २१ वर्षीय बाबुराम सुनारलाई नक्कली गहनाहरुसहित पक्राउ गरिएको छ ।

उनीहरुबाट सुन जस्तो देखिने छड्के तिलहरी–३ पीस, सुन जस्तो देखिने माइली तिलहरी–१६ पीस, सुनको जस्तो देखिने चुरा(बाला) ८ पीस, मरहरी १ जोडी, जुली १ जोडी, चाँदीको जस्तो देखिने चुरा १ जोडी, चिप्ती २ थान, सुन काट्ने कैची– २ थान, हतौडा, सनासो, पित्तलको पाता, औठी बनाउने फलामको डण्डी एक–एक थान, ताल बराही ज्वैलर्स, मालिका सुनचाँदी पसल र पञ्चमुखी ज्वैलर्स लेखेको ठेली एक–एक थान, सुन पगाल्ने ग्यास पम्प र सुन सुकाउने पम्प एक–एक थान तथा नगद ४० हजार प्रहरीले बरामद गरेकोछ ।

सेतोखरीसंग कुरा गर्दै डिएसपी मल्लले भने–‘कोहलपुर क्षेत्रमा नक्कली सुनचाँदीको गरगहना बिक्री गर्ने कार्य लामो समयदेखि चल्दै आएको रहेछ । नक्कली सुनचाँदीका गरगहनाबाट सर्वसाधरण र सुनचाँदीका ब्यापारि समेत ठगिएको हामीले पायौं ।’

‘कोहलपुर नगरपालिका वडा नम्बर–२ बस्ने ४२ वर्षीया निर्मला बोहरा र कोहलपुर नगरपालिका वडा नम्बर–६ बस्ने २३ वर्षीया मनुराधा बपाल मगरले सुहाना सुनचाँदी पसलमा असार १ गते ६० हजारमा नक्कली सुनको गहना सस्तोमा बेचेका रहेछन् ।’ डिएसपी मल्लले अगाडी थपे–‘निर्मला सासु र मनुराधा बुहारी बनेर नक्कली सुनको गहना बेचेको रकममध्ये ४० हजार नगद लिएर गए । हिजो (असार २ गते) मनुराधा बाँकी २० हजार रकम लिन आएको बेला उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीले बरामद गरेको नक्कली सुन चाँदीका गरगहना ।

मनुराधालाई पक्राउ गरि घटना अनुसन्धान अघि बढाउदाँ प्रहरी सामु उक्त घटनाको नायके अर्कै रहेको पत्ता लाग्यो । ‘मनुराधालाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा नक्कली सासु निर्मला र उनीहरुलाई प्रयोग गर्ने नायके कोहलपुर वडा नम्बर–१ बस्ने २७ वर्षीय नवराज विश्वकर्मालाई पक्राउ गरियो’ मल्लले बताए ।

डिएसपी मल्ले भने–‘मनुराधा, निर्मला र नवराजलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाउँदै गर्दा उनीहरुलाई समेत तिलक सुनार र सन्तोष सुनारले नै नक्कली सुनचाँदीको गरगहना बेच्न प्रयोग गरेको रहस्य बाहिरयो ।’
त्यसपछि खजुरा गाउँपालिका वडा नम्बर–२ बस्ने तिलक सुनार र अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्बर– २ पोखराथोक घर भइ हाल कोहलपुर नगरपालिका वडा नम्बर– ११ बस्ने ३३ वर्षीय सन्तोष सुनारलाई प्रहरीले नियन्त्रणमा लियो ।

‘सन्तोष र तिलक उनीहरुको नायके भएको पत्ता लागेपछि नक्कली सुनचाँदीको गरगहनाको कारोबार गर्न ठूलो गिरोह नै सक्रिय भएको पत्ता लाग्यो’ डिएसपी मल्लले भने–‘नक्कली सुनचाँदीको गरगहनाको कारोबारको जालो यहाँ आएर टुङ्गिएन । पक्राउ परेका सन्तोष र तिलकमाथि अनुसन्धान गर्दै जाँदा मुख्य नायके आयुस खड्का भनिने टिकाराम सुनार रहेको पत्ता लाग्यो ।’

अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्बर–५ बस्ने आयुस खड्का भनिने टिकाराम सुनार अहिले फरार रहेकाछन् । उनको खोजी कार्य अघि बढाएको डिएसपी मल्लले जानकारी दिए ।

पक्राउ परेका मध्ये भुवनपईखरी गाउँपालिका वडा नम्बर–६ पाल्पा बस्ने २१ वर्षीय बाबुराम सुनार र बैजनाथ गाउँपालिका वडा नम्बर –२ बस्ने १९ वर्षीय दिनेश सुनार कारिगर हुन् । उनीहरुले नै नक्कली सुनचाँदीको गरगहना बनाउने गर्दथे ।

प्रहरीले नक्कली सुन चाँदीका गरगहनासगै बरामद गरेको सुन पसलको बील ।

नक्कली सुनचाँदीको गरगहना बनाउनेदेखि बिक्री गर्नेसम्म सुनचाँदी कारीगर र ब्यापारिसमेत रहेको अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए ।

उनले भने–‘उक्त गिरोहबाट हालसम्म बर्दिया बाँसगढीको मनिस सुनचाँदी पसल, कोहलपुरका जयमालिका, नविन र चितवन सुनपसलमा नक्कली सुनचाँदीको गरगहना बेचेर ठगी गरेका रहेछन् ।’ डिएसपी मल्लले अगाडी थपे–‘कोहलपुर क्षेत्रमा सुन ब्यापारीकै कमजोरीका कारण नक्कली सुनचाँदीको गहना बनाइ सर्वसाधरण र ब्यापारी उनीहरुले ठगेको देखिन्छ ।’

डिएसपी मल्लका अनुसार कोहलपुर क्षेत्रमा सुनचाँदी ब्यापारीले गैरकानूनीरुपमा बढि ब्याज खान सहजै धितो राख्ने र चोरीका सुनचाँदी सस्तोमा किन्ने गरेकै कारण गिरोहले उनीहरुलाई आफ्नो निसानामा पारेको हुन् ।
गिरोहले आफै नक्कली सुन बनाउने र बेच्नका लागि नक्कली सम्बन्ध बनाएर नक्कली सुनचाँदीको बील उपलब्ध गराएपछि सर्वसाधरणसंगै ब्यापारी समेत ठगिएको अनुसन्धानबाट खुलेकोछ ।

कोहलपुर क्षेत्रमा जुनसुकै अपराधलाई जरैदेखि निस्तेज पार्ने गरि आफू खटेको बताउँदै डिएसपी मल्लले अपराध र अपराधीलाई कारबाही गर्न आफू कसैको दवाव र प्रभावमा नपर्ने बताए ।