बर्थ डे पार्टीबाट घर फर्किदैँ गरेका मिलनमाथि बानियाँभारमा आक्रमण, उपचारका क्रममा वीर अस्पतालमा मृत्यु

कोहलपुर प्रहरीद्वारा कुकुरको साहयतामा तीन घण्टामै आरोपी पक्राउ


बर्थ डे पार्टीबाट घर फर्किदैँ गरेका मिलनमाथि बानियाँभारमा आक्रमण, उपचारका क्रममा वीर अस्पतालमा मृत्यु

नेपालगन्ज १३ असार : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–४ एलबी चोक नजिक सडकको बीच भागमा गम्भीर घाईते अवस्थामा भेटिएका मिलन भनिने दिक्षित खड्काको मृत्यु भएकोछ ।

बैजनाथ गाउँपालिका वडा नम्बर –६, सम्झना चोक निवासी मिलन भनिने दिक्षित खड्काको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले पुष्टि गरे ।

उक्त घटनामा संलग्न भएको भन्दै कोहलपुर प्रहरीले स्थानीय ४ जना युवालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–३ निवासी सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र बैजनाथ गाउँपालिका वडा नम्बर–४ बस्ने गोविन्द विक रहेकाछन् ।

प्रहरीको मोबाईल टोलीले सोमबार राती अन्दाजी २ बजे रत्नराजमार्ग(कोहलपुर–सुर्खेत) सडकखण्डको बानियाँभार नजिक रहेको एलबी चोक स्थित सडकको बीचभागमा सख्त घाईते अवस्थामा मिलनलाई फेला पारेको थियो ।
गम्भीर घाइते भएका मिलनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएपनि स्वास्थ्य अवस्था जटिल भएको भन्दै थप उपचारका लागि काठमाण्डौं स्थित वीर अस्पताल लगिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबार विहान सिता एयरको जहाज चार्टड गरि वीर अस्पताल लगिएका मिलनको उपचारका क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले सेतोखरीलाई जानकारी दिए ।

‘पक्राउ परेका युवाले मिलनमाथि आक्रमण गर्दै चिरपट र लाठिले प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए’ डिएसपी मल्लले भने–‘घटना लगत्तै तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरुलाई पक्रिन सफल भइयो ।’

‘घटना स्थलमा बरामद रगत लागेको कपडा र लाठीका टुक्राहरु तालिम प्राप्त कुकुरलाई सुँघाएर अनुसन्धान अघि बढायौं’ डिएसपी मल्लले भने–‘तालिम प्राप्त कुकुरले मिलनमाथि आक्रमण गर्ने युवाहरुको दिशा पत्ता लगायो, हामी त्यही दिशामा घट्ना अनुसन्धान जारी राख्दा तीन घण्टामै मिलनमाथि आक्रमण गर्ने युवाहरु पक्राउ परे ।’

प्रहरी नियन्त्रणमा रहेका युवाले मिलनमाथि कुटपिट गरेको स्वीकारिसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार पूर्ण बुढामगर र खगेन्द्र थापा मगरले मिलनको टाउको लगायतका शरीरका विभिन्न भागमा लाठि र बाँसको चिरपटले हानेको स्वीकारेकाछन् । भने सुन्दर शाही र गोविन्द विकले मुक्का, लातिले हिर्काएको स्वीकारेकाछन् ।

पक्राउ परेका युवा र मिलनबीच एलबी चोकमा विवाद भएको र सोक्रममा उनीहरुले मिलनलाई जमिनमा लडाई टाउको लगायत शरीरका विभिन्न भागमा लाठिले अन्धाधुन्द आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाईते भएका मिलनलाई चारै जना युवाले घटना स्थलबाट उठाएर सडकको बीच भागमा राखी आ–आफ्नो घर गएर सुतेका थिए । उक्त दिन सो क्षेत्रमा ती ठाँउमा बर्थ डे पार्टी भएको थियो ।

कोहलपुर प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लले घटना विवरण यसरी सुनाए

बैजनाथ गाउँपालिका वडा नम्बर –६, सम्झना चोक निवासी मिलन भनिने दिक्षित खड्काको उपचारका क्रममा मृत्यु भएकोछ ।

रत्नराजमार्ग(कोहलपुर–सुर्खेत)को बानियाभार स्थित एलबी चोकको बीच सडकमा सोमबार विहान अन्दाजी २ बजे गम्भीर घाईते भएको अवस्थामा मिलनलाई प्रहरीको मोबाइल टोलीले फेला पारेको थियो ।

गम्भीर घाईते भएका मिलनलाई तत्काल उद्दार गरि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका लागि लगियो । मिलनको स्वास्थ्य अवस्था जटिल भएपछि उनका परिवारले थप उपचारका लागि सोमबार विहान सिता एयरको जहाज चार्ट गरि काठमाण्डौं स्थित वीर अस्पताल लगे ।

वीर अस्पताल उपचारका क्रममा सोमबार दिउँसो २ बजेतिर मिलनको मृत्यु भयो । उनको शव बाँके ल्याउने तयारी भइरहेकोछ ।

मिलनले आईतबार बेलुका चिसापानीका मनोज शाहसंगै उनको छोरीको पास्नीको पार्टी कोहलपुरमा खाएका थिए । पार्टी खाइसकेपछि उनी मनोजको घर चिसापानी सुत्न गए ।

मनोजको घरमा सुतिरहेका मिलन मनोज र उनको परिवारलाई थाहा नदिई पैदल कोहलपुरतिर लागे । खाली खुट्टा कोहलपुरतिर आइरहेका मिलनले आफ्नो मोबाईल, जुत्ता मनोजकै घरमा छाडेका थिए ।

बानियाँभार नजिक पुगेका मिलन बैजनाथ गाउँपालिका वडा नम्बर–३ बस्ने पदम सुनारको घरमा छोरीको बर्थडे पार्टीमा गए । पक्राउ पर्ने सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र गोविन्द विक पनि पदम सुनारको घरमा बर्थ डे पार्टीमा सहभागि थिए ।

मिलनले पदमलाई छोरीको पार्टी खुवाउनु भनेपछि आईतबार राती करिब ११ बजे नजिकै रहेको अनुसा कटेजमा रक्सी र चाउचाउ मिलनले खाए । कटेजबाट मिलन पदमको घरमा गई बिहान साढे एक बजेसम्म नाचे ।

नाचगान पश्चात मिलन घर फर्किने क्रममा बानियाँभार नजिक एलबी चोकमा पक्राउ परेका चारै जना बासको भाटा लिएर बसेका थिए । सोहीक्रममा मिलनले ती चारै जना युवालाई बस पार्क जाने बाटो सोधेपछि उनीहरुबीच विवाद उत्पन्न भयो ।

विवाद बढ्दै गएपछि धकेलाधकेल गरि मिलनलाई जमिनमा लडाई बासको भाटा, लठिले मिलनको टाउको र शरीरिका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरि सख्त घाइते बनाए ।

गम्भीर घाइते भएका मिलनलाई उनीहरु चारैजनाले घटनास्थलदेखि रत्नराजमार्ग (कोहलपुर–सुर्खेत) सडकको बीचभागमा राखि त्यहाँबाट फरार भइ आ–आफ्नो घरमा गइ सुतेका थिए ।

प्रहरीको मोबाइल गस्ती टोलीलले सोमबार राती करिब २ बजेतिर मिलनलाई सडकको बीचभागमा गम्भीर घाईते अवस्थामा फेला पारेको थियो ।