शंकर मावि थपुवाका प्रअ युनुसविरुद्ध भ्रष्टाचार मुद्दा दायर


शंकर मावि थपुवाका प्रअ युनुसविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगन्ज १४ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको शंकर माध्यमिक विद्यालय प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध तीन लाख दुई हजार १९७ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

उनीमाथि बैजनाथ गाउँपालिका– ८ मा रहेको विद्यालयमा छात्रवृत्तिका लागि प्राप्त रकम कम्प्युटर खरिद, भवन निर्माण, शौचालय निर्माण र विद्यालयको आन्तरिक स्रोत दुरुपयोग हुनेगरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

‘जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–८ मा रहेको श्री शंकर माध्यमिक विद्यालय थपुवा, बाँकेमा जिल्ला शिक्षा कार्यालय, बाँकेबाट २०६८ सालदेखि २०७४ सालसम्ममा छात्रवृत्तिको लागि प्राप्त रकममा, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शंकर माध्यमिक विद्यालय, थपुवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँले शिक्षा नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ मा विद्यालयले प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नुपर्ने भन्ने व्यवस्था विपरीत छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल जम्मा रु.३०२,१९७।– तोकिएको शीर्षकमा खर्च नगरी हिनामिना गरेको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुर भएकोले निजलाई उक्त कसुरमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको बिगो रु.३,०२,१९७।– (तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा १(घ) बमोजिम कैद सजाय हुन तथा हानिनोक्सानी भएको रकम सोही ऐनको दफा १७ बमोजिम नै निजबाट असुलउपर गरी पाउने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा विज्ञप्तीमा उल्लेछ ।