बाँकेमा १५० मिलिटिर वर्षा, राप्तीनदीमा पानीको सतह बढ्यो

सतर्कता अपनाउन आग्रह


बाँकेमा १५० मिलिटिर वर्षा, राप्तीनदीमा पानीको सतह बढ्यो

File Photo

नेपालगन्ज १५ असारः बाँकेको राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो ६ घण्टामा बाँकेमा १५० मिलिमिटर वर्षा मापन भएको छ । दिउँसो २ बजे राप्ती नदीमा पानीको सतह ४ दशमलव ०९९ मिटर रहेको छ । बुधवार दिनभरि मध्यम वर्षात भइरहेकाले राप्ती नदीमा पानीको सतह बढ्न सक्नेछ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।