नगरप्रमुख विष्टको एक्सन : वर्षाको पानी हटाउन जेसिबीसहित फिल्डमा खटिए


नगरप्रमुख विष्टको एक्सन : वर्षाको पानी हटाउन जेसिबीसहित फिल्डमा खटिए

नेपालगन्ज १५ असार : नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट गएरातीदेखि परेको अविरल पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन जेसिबीसहित फिल्डमा खटिएका छन् ।

नेपालगन्जमा गएरातीदेखि विहानसम्म परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा जमेको पानीको निकासका लागि नगर प्रमुख विष्ट जेसिबीसहित आफैं फिल्डमा खटिएका हुन् । वडा नम्बर ४ र ६ का विभिन्न बस्तीहरुमा पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए ।

वडा नम्बर–४ को सेतु विकचोक नजिकै न्यूरोडमा बागेश्वरी क्युएफएक्सको अगाडि नाला अबरुद्ध हुँदा सडकमा पानी जमेको थियो । जेसिबीले त्यहाँ नाला सफा गरेको थियो ।

बसपार्कदेखि पुरैनी कान्तिताल जाने बाटोमा वडा नम्बर–६ स्थित टोलमा निकास नपाएर थुनिएको पानीलाई जेसिबीको सहायताबाट ह्युमपाइप सफा गरी निकास दिइएको छ । कतिपय नाला भएको ठाउँमा बाटो र घर वरिपरि जम्मा भएको पानीलाई पनि निकास दिइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘वर्षा सुरु हुनुअघि नै हामीले नगरका धेरैजसो नाला सफा गरिसकेका थियौं, धैरै ठाउँमा पानीको सहज निकास भएको देखिएको छ, तर, केही ठाउँमा समस्या देखिएपछि म आफैं ती ठाउँहरुमा पुगेर पानीको निकास दिने काम भएको छ,’ नगर प्रमुख विष्टले भने–‘कतिपय ठाउँमा बाटो मात्रै बनेको छ, नाला छैन, घर बनेका छन्, पानीको निकास छैन, त्यसकारण समस्या भएको हो, ती ठाउँहरुमा म विहानै पुगेर समस्या समाधान गरिएको छ ।’