नेपालगन्ज ल्याउँदै गरेको ४ किलो अफिमसहित २ पक्राउ


नेपालगन्ज ल्याउँदै गरेको ४ किलो अफिमसहित २ पक्राउ

नेपालगन्ज २० असार : बाँकेको चिसापानीबाट करिब ४ किलो लागुऔषध अफिम सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीबाट अफिमसहित २ जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर–३ बस्ने २५ वर्षीयद्वय गोपाल रोकाय र लेखराज विष्ट रहेकाछन् । प्रहरीले उनीहरुबाट ३ केजी ८ सय ग्राम लागुऔषध अफिम बरामद गरेकोछ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार चिसापानी स्थित सेनोको चेकप्वाईन्टमा गोपाल रोकाय शंकास्पदरुपमा हिँडिरहेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

डिएसपी मल्लले भने–‘ चिसापानीस्थित सेनाको चेकप्वाईन्टमा शंकास्पदरुपमा भेटिएका गोपाललाई रोकेर सोधपुछ गर्न खोज्दा आफूले बोकेको झोला त्यहीँ छाडेर उनी निकुञ्जभित्र भागेका थिए ।’

सुर्खेतको छिन्छुबाट नेपालगन्ज आइरहेका गोपालले छाडेको झोलामा लागुऔषध अफिम फेला परेको मल्लले बताए ।

‘निकुञ्जभित्र भागेका गोपाललाई निकुञ्जमा गस्ती गरिरहेको सेना, बाँके राष्ट्रिय निकुञ्ज तथा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएको हो’ डिएसपी मल्लले सेतोखरीलाई जानकारी दिए ।

गोपाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दा मोटरसाईकल चालक जाजरकोट नलगाड नगरपालिका वडा नम्बर–३ बस्ने २५ वर्षीय लेखराज विष्टलाई आईतबार ३ बजे कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट नियन्त्रणमा लिएको उनले बताए ।

लागुऔषध अफिम ओसारपसारमा प्रयोग गरिएको भे ७ प ८६७७ मोटरसाईकल आईतबार बेलुका ६ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कबाट नियन्त्रणमा लिइएको हो ।

मल्लका अनुसार पक्राउ परेका दुवैजनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४(ङ), (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइएकोछ । यो ऐनको दफा १४(६) ३ बमोजिम १५ वर्ष जन्मकैद र पाँच लादेखि २५ लाखसम्म जरिवाना हुने ब्यवस्था छ ।