भेरीमा प्रशासनको छड्के : डाक्टर शाक्यसहित ६ जनाको अग्रीम हाजिरी भेटियो

एकैदिन २ सय ९० जना कर्मचारी परे छड्केमा, अस्पताल प्रशासनलाई स्पष्टीकरण सोध्ने


भेरीमा प्रशासनको छड्के : डाक्टर शाक्यसहित ६ जनाको अग्रीम हाजिरी भेटियो

नेपालगन्ज २३ असार : भेरी अस्पताल नेपालगन्जमा थप एक चिकित्सकसहित ६ जनाले अग्रिम हाजिरी गरेको पाइएकोछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार अस्पतालमा छड्के जाँच गर्दा थप एक जना चिकित्सक सहित चार जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीले अग्रिम हाजिरी गरेको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पतालका डाक्टर निर्मल शाक्यसहित ६ जनाले अग्रिम हाजिरी गरेको पाइएको बताए । तर, डाक्टर शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ ।

भेरी अस्पताल विकास समितिले असार २१ गते वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेशकुमार नागलाई अग्रिम हाजिरी गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर नागलाई बुधबार ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र काटिसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर नागले अग्रिम हाजिरी गरेको घटना बाहिरीएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार विहान सवा १० बजे छड्के गरेको हो ।

अस्पतालमा गरेको आकस्मिक निरीक्षणमा २ सय ९० जना कर्मचारी छड्केकमा परेका छन् । ३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना छड्केमा परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भेरी अस्पतालमामा केहीले अग्रिम हाजिर गर्नेदेखि हाजिरी नै नगरेको पाइएको बताए । ‘कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखिन्छ’ उनले भने, ‘केहीले अग्रिम र केहीले हाजिरी नै गरेका छैनन् ।’

जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरीका विषयमा अस्पताल प्रशासनलाई स्पष्टीकरण सोध्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी खत्रीले अस्पताल प्रशासन कमजोर रहेको बताउँदै छड्केमा परेकाहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाइने बताए ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ । यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरु क्लिनिकमा ड्यूटी गर्ने गर्छन् । भेरी अस्पतालको ड्युटी समयमा पनि प्रायः बसेको पाइँदैन ।

थप समाचार

अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश

अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई कारबाहीको सिफारिस