वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु


वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु

भरतपुर १ साउन : भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।

मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग २ च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार सुरज गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३३ वर्षीय सुरजको घर तनहुँको व्यास नगरपालिका–१२ हो ।

ठक्कर दिने कार र चालक वडा सदस्य राजकुमार प्रहरीको नियन्त्रणमा छन् । वडा सदस्य राजकुमारले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पक्राउ परेका राजकुमार यसपालिको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका हुन् । -रासस