जीवन वीमा, नक्कली विवाह र हत्याः त्यसपछि सपनाले बुझिन् २ करोड ५० लाख

हत्यालाई सवारी दुर्घटना देखाएर रकम लिने ६ जना पक्राउ


जीवन वीमा, नक्कली विवाह र हत्याः त्यसपछि सपनाले बुझिन् २ करोड ५० लाख

सर्जनको हत्या तथा वीमा बापतको रकम ठगी गरेको कसुरमा पक्राउ परेका ६ जना ।

नेपालगन्ज १३ साउन : जीवन वीमा कम्पनीबाट रकम हत्याउनका लागि बाँकेमा ६ जनाको समूहले १ जनाको योजनाबद्ध हत्या गरेको खुलेको छ । झण्डै ६ महिनादेखि योजना बनाएर २१ वर्षीया किशोरको वीमा गरी, सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरेर हत्या गरी उक्त समूहले बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन विक २०७८ वैशाख १ गते राति करिब ११ बजेको समयमा टिपरमा बालुवा लोड गर्ने भन्दै भे १ प १७२७ नम्बरको मोटरसाइकल चलाएर गएकोमा काम सकेर घर फर्किँदै थिए । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा आइपुग्दा उनलाई भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दियो ।

बसको ठक्करबाट घाइते भएर बाटोमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले त्यही राति उनलाई कोहलपुर मेडिकल कलेजमा लगेको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भयो ।

ठक्कर दिने गाडीका चालक थिए बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री । यस्तै, मृतक सर्जन सवार मोटरसाइकलका धनी कोहलपुर–१५ का सरदार अहमत खाँ थिए । प्रहरीको अनुसन्धानपछि बसका चालक टोपबहादुरसहित खाँविरुद्ध पनि बाँके जिल्ला अदालतमा सवारी ज्यानको मुद्दा दर्ता भयो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला अदालतले २०७८ माघ २५ गते बसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो भने मोटरसाइकल धनी खाँले सफाइ पाए ।

अदालतले सवारी ज्यानको मुद्दा टुंग्याएपछि मृतक सर्जनको नाममा गरिएको जीवन वीमा र म्यादी जीवन वीमा वापत रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ बराबरको चेक भुक्तानी लिएर उनकी श्रीमती भनिएकी सपनाले कामना सेवा विकास बैंकको कोहलपुर शाखामा रहेको आफ्नो खातामा जम्मा गरिन् ।

सपनाले वीमा बापतको रकम आफ्नो बैंक खातामा जम्मा गरेपछि रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ठगीसम्बन्धी कसुर’मा अनुसन्धान गरीपाउँ भन्दै सीआईबीमा जाहेरी दिएको थियो ।

तर, उक्त घटना नियोजित देखिएको र दुर्घटना पनि शंकास्पद रहेको भन्दै पुर्नवीमा कम्पनीले अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीमा उजुरी गरेपछि वीमाबाट रकम हत्याउनकै लागि हत्या भएको खुलेको हो । सीआईबीका अनुसार हत्या गरेर मृत्युजस्तो देखाउने र पछि पैसा लिने भनेर योजनाबद्ध रुपमै सर्जनको वीमा गरेर हत्या गरिएको थियो ।

सीआईबीका अनुसार उक्त घटनामा शंकास्पद देखिएपछि ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा वीमाबाट प्राप्त हुने रकम लिनकै लागि विभिन्न व्यक्तिको मिलेमतोमा सर्जन विकको हत्या भएको खुलेको सीआईबीले जनाएको छ ।

‘मृतक सर्जनको वार्षिक आम्दानीभन्दा वीमा बापत तिर्नुपर्ने किस्ताको रकम नै धेरै देखियो । त्यसमाथि वार्षिक आयको अधिकत्तम ४० प्रतिशत सम्मको मात्र वीमा गर्न सक्ने प्रावधान अनुरुप पनि वीमा भएको नदेखिएपछि घटना शंकास्पद लागेर हामीले अनुसन्धान अगाडि बढाएका थियौं,’ सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले भने, ‘नक्कली विवाह गराउने, त्यसपछि वीमा गराउने र रकम हत्याउने उनीहरुको मुख्य उद्देश्य देखियो । वीमाको रकम हत्याउनका सवारी दुर्घटनामा मृत्यु भएको देखिने गरी उनीहरुले सर्जनको हत्या गरेको खुलेको छ ।’

प्रहरीले मृतक सर्जनकी श्रीमती भनिएकी बाँकेको कोहलपुर नगरपालिका–२ की २१ वर्षीया सपना मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने अन्यमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्याल, बाँकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेको बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर–१ की २१ वर्षीय आरति भनिने ललिता सापकोटा छन् ।

अनुसन्धानका क्रममा उनीहरुले सर्जनको वीमा गरी, दुर्घटनामा मृत्यु भएको देखाउन हत्या गरी वीमा बापत २ करोड ५० लाख हत्याउने योजना बनाएका खुलेको हो ।

प्रहरीका अनुसार यो प्रकरणको सुरुवात भने २०७७ मंसिर अगाडिदेखि नै भएको थियो । सुरुमा आरती भनिने ललिता कुमारी सापकोटाले सपना मल्ल र सञ्जीब अर्यालबीच भेट गराइदिएकी थिइन् । उनीहरुबीच सपनालाई ‘डिपेन्डेन्ट भिसा’मा अस्ट्रेलिया पठाउने कुरा भएको थियो ।

२०७७ मंसिर २७ गते सीप सिक्नका लागि भन्दै सपना काठमाडौं आएकी थिइन् । त्यही बीचमा सञ्जीबसहितले सपना र सर्जनबीच चिनजान गराए । दुवै जनालाई अस्ट्रेलिया जानका लागि सजिलो हुन्छ भन्दै विवाहका लागि राजी गराए ।

त्यसपछि उनीहरुले सर्जनको नाममा कामना सेवा विकास बैंकको कोहलपुर शाखामा २०७७ फागुन ५ गते खाता खोल्न लगाए । यस्तै, २०७७ फागुन १२ गते कामना सेवा विकास बैंकको कोहलपुर शाखामै सपनाको पनि खाता खोलियो । दुवै जनाको खाता स्याङ्जाको वालिङ नगरपालिका–६ घर भइ बाँकेको कोहलपुर–१९ घर भएका ३१ वर्षीय सञ्जीब अर्यालले खोलिदिएका थिए ।

त्यसपछि सर्जनको नाममा २०७७ फागुन २८ गते रिलायन्स लाइफमा १ करोड २० लाख रुपैयाँ बराबर जीवन वीमा, ७० लाख रुपैयाँ बराबरको दुर्घटना वीमा तथा सोही रकम बराबरको पूर्ण अशक्त भएबापत प्राप्त हुने रकमका लागि वीमा गरियो । ईच्छाएको व्यक्तिका रुपमा सपनालाई श्रीमतीको रुपमा उल्लेख गरी उनको नाम राखियो ।

सोही दिन सर्जनका नाममा सरदार अहमद खाँले ५ वर्ष अवधिको ३० लाख रुपैयाँको म्यादी जीवन वीमा, ३०–३० लाख रुपैयाँकै दुर्घटना तथा पूर्ण अशक्त बापतको वीमा गरे । वीमाको प्रथम शुल्कबापत सोही दिन सञ्जीबले ५ लाख ४० हजार रुपैयाँ तिरेका थिए ।

उनीहरु फागुन २८ गते नै सर्जन र सपनाको विवाह दर्ता गराउनका गएका थिए । तर, सर्जनको उमेर नपुगेका कारण २८ गते विवाह दर्ता हुन सकेन । त्यसपछि चैत २ गते उनीहरुको विवाह दर्ता भयो ।

विवाह दर्तापछि सर्जन र सपना मल्लबीच कहिल्यै भेट भएन । त्यसपछि एकैचोटी सर्जनको मृत्यु भएर वीमा कम्पनीबाट दाबी भुक्तानी गर्न मात्रै सपना पुगेकी थिइन् । सीआईबीले घटनाको अनुसन्धान थाल्दा उनी अस्ट्रेलिया जान भन्दै भारतको दिल्ली पुगिसकेकी थिइन् । तर, नेपाल प्रहरीले उनीविरुद्ध एउटा आपराधिक घटनामा अनुसन्धान भइरहेको भन्दै पत्राचार गरेपछि दिल्लीबाट उनी नेपाल ‘डिपोर्ट’ गरिएकी हुन् ।

वीमा कम्पनीबाट लिएको २ करोड ५० लाख रकममध्ये सपना मल्ल, सञ्जीब अर्याल र दिपक केसीले बाँडेका थिए । यस्तै, सपनाकी आमा छबि कुमारी खत्रीलाई पनि उनीहरुले १७ लाख ४६ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सञ्जीबले ६० लाख ३६ हजार, दिपक केसीले ६० लाख र सपना मल्लले ८६ लाख ८९ हजार रुपैयाँ बाँडेर लिएको प्रहरीले जानकारी दिएको छ । -नेपाललाईभबाट