बाघले खाएपछि चितवनमा सकिए बाह्रसिङ्गे र अर्ना


बाघले खाएपछि चितवनमा सकिए बाह्रसिङ्गे र अर्ना

चितवन ३१ साउन : वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी, रोग र बाघले खाएर सकिएका छन् । २०७३ मा ल्याइएका १५ अर्ना र २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन् ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन्। पानी छिर्ने ठाउँबाट बाघ पसेर तीनवटै अर्ना खाएको अनुमान निकुञ्जले गरेको छ ।

यसअघि एउटा अर्ना बाघ पसेर खाएको थियो। तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन् । चार बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएर मरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

आचार्यले संरक्षणका लागि ठूलो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए । गत आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म १० अर्ना मरेका हुन् ।
छ वटा भाले र चार पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन वटा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् ।

अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ । तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो ।

२०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए । अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् ।

निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो ।

कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

२०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । १५ वटा ल्याइयो, थप पाँच वटा ल्याइएन। यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो ।

अर्नाको सरदर आयु २५ वर्ष हुन्छ। यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन÷चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ । -रासस