बाँकेमा दुई जनाको शंकास्पद मृत्यु


बाँकेमा दुई जनाको शंकास्पद मृत्यु

नेपालगन्ज १ भदौ : बाँकेमा दुई जनाको शंकास्पद मृत्यु भएकोछ । बाँकेको कोहलपुर र नेपालगन्जमा दुईजनाको शंकास्पद मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा एक जना किशोर मृत फेला परेका छन् । भने नेपालगन्जको आरम्भ पुर्नस्थापना सुधार केन्द्रमा रहेका एक ब्यक्तिको मृत्यु भएको हो । दुबैको मृत्यु शंकास्पद रहेको बाँके प्रहरीले जनाएकोछ ।

कोहलपुर नगरपालिका–७ स्थित आरती सामुदायिक वनभित्र जानकी गाउँपालिका–६ का १६ वर्षीया शिव लोनिया मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । बुधबार विहान करिब १० बजेतिर बालक मृत अवस्थामा फेला परेको जानकारी पाउने वित्तिकै पुगेको प्रहरी टोलीले शव पहिचान लगत्तै अनुसन्धान थालेको छ ।

घटनालाई गम्भीर रुपमा लिएको मल्लले बताए । उनले एक ठाँउमा हत्या गरि अर्को स्थानमा शव फालेको अवस्थामा भेटिएको बताए । हत्या आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

दाउरा लिन वनमा गएको बेला रुखको हांगाले लागेर भतिजाको मृत्यु भएको सँगै जंगल गएका काकाले बयान दिए पनि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको डिएसपी मल्लले बताए ।

साथमा जंगल गएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । ‘रुखको हांगा लागेर मृत्यु भएको हो की हत्या गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । थप कुरा अनुसन्धानबाट खुल्ने छ,’ उनले बताए ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका–९, शान्तिनगरस्थित आरम्भ पुनस्र्थापना केन्द्रमा भर्ना भएका लागूऔषध प्रयोगकर्ताको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका– ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । सुधार केन्द्रमा रहेका उनको स्वास्थ्यमा खराबी देखिएपछि भेरी अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जानकारी आएको उनले बताए ।

उनी एक हप्ता अघि मात्र पुनस्र्थापना केन्द्रमा भर्ना भएका थिए । अधिकारीको मृत्यु शंकास्पद देखिएको भन्दै थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको भेरी अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।