लोडेट हतियारसहित बैजापुरबाट सिकारी पक्राउ


लोडेट हतियारसहित बैजापुरबाट सिकारी पक्राउ

बाँके र बर्दियामा पक्राउ परेका सिकारीबाट बरामद हातहतियार तथा मोटरसाईकल ।

नेपालगन्ज २ भदौ : मध्ये रातमा प्रहरी र सिकारीबीच जम्काभेट हुँदा लोडेट हतियारसहित एकजनालाई नियन्त्रणमा लिइएकोछ । प्रहरीको विशेष अप्रेसन अभियानले बाँकेको राप्तीसोनारी–४ स्थित सिक सामुदायिक वनबाट हतियार सहित सिकारी पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा बुधबार मध्येराती सिक सामुदायिक वनको चुरे क्षेत्रबाट ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले १ थान लोडेट हतियार, जाल, ७ वटा मोटरसाइकलसहित गयाप्रसाद थारुलाई पक्राउ गरेको हो । थारु राप्तीसोनारी– ५ निवासी हुन् ।

ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज सई प्रविण डाँगीले चोरी सिकारी हुँदै गरेको विशेष सूचनाको आधारमा अप्रेसन गरेपछि हतियार सहित सिकारी पक्राउ गर्न सफल भएको बताए ।

प्रहरीको अप्रेसनबाट भागेका अन्य सिकारीहरुको पनि खोजी कार्य भइरहेको समेत सई डाँगीले जानकारी दिए । प्रहरीले भे १० प ९८९३, भे ६ प ७५०३, भे ७ प ६०४५, भे ४ प २२७२, भे ७ प ११०८, बा २६ प ९०१६ नम्बरका ७ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

ईन्चार्ज डाँगीका अनुसार पक्राउ गरिएको हात हतियार, मोटरसाइकल ईलाका प्रहरी कार्यालय कोहलपुरमा आज बिहीबार बिहान बुझाइएको छ ।

यता ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका थारुलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा चलाइने बताए । डिएसपी मल्ले यस सम्वन्धी मुद्दामा ७ वर्ष कैद र ७० हजारसम्म जरिवाना हुने कानूनी ब्यवस्था रहेको उल्लेख गरे ।

पछिल्लो समय बाँके र बर्दियामा चोरी सिकारीको विगविगी बढेको छ । यसअघि साउन ३१ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट हातहतियारसहित एक जना सिकारीलाई नियन्त्रणमा लिइएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले सिकारीबाट दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउण्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल, सुकुटी ४ सय ग्राम, मोटरसाइकल १ थान, मोबाइल ३ थान र छालासहित काँचो मासु ७ सय ग्राम बरामद गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत संजय सञ्जेलले बताए । निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा सिकारीलाई पक्राउ गर्न सफल भएको बताउँदै संजेलले अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका सिकारीको नाम सार्वजनिक नगरिएको जनाए ।