बाँके र बर्दियामा तीन बालकसहित ५ जनाको मृत्यु


बाँके र बर्दियामा तीन बालकसहित ५ जनाको मृत्यु

नेपालगन्ज ४ भदौ : बाँके र बर्दियामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि तीन बालकसहित ५ जनाको ज्यान गएकोछ । बाँकेको गनापुरमा डुबेर एक बालक र नेपालगन्जमा करेन्ट लागेर बाबुछोरा तथा बर्दियामा डुबेर दुई बालक गरि जम्मा ५ जनाको मृत्यु भएको हो ।

बाँकेको गनापुरमा अम्बे स्टिलको उद्योगले खनेको नालामा डुबेर जानकी गाउँपालिका वडा नम्बर–५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

जानकी गाउँपालिका वडा नम्बर–५ गनापुरमा अम्बे स्टिलले उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगले पर्खाल निर्माणका लागि खनेको करिव १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ति बालकको मृत्यु भएको जानकी गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष टिकानाथ यादवले बताए ।

‘अम्बे स्टिलको उद्योगले खनेको करिव १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो, आज बिहान शौच गर्न गएका बेलामा बालकको मृत्यु भयो,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

वडाअध्यक्ष यादवका अनुसार बिहान करिव ५ बजेतिर बालक शौच गर्न निस्केका थिए । घटनाबारे उद्योगले अहिलेसम्म कुनै चासो नदेखाएको वडाअध्यक्ष यादवले सुनाए ।

मृतक बालकका बुवा मुन्सीलाल करबलले अम्बे स्टिलको लापरबाहीका कारण छोराको मृत्यु भएको बताए । ‘उद्योगले खाल्डो खनेर धराप बनाएको थियो, त्यही धरापमा मेरो छोराले अकालमा ज्यान गुमायो,’ उनले भने । घटनाका दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग सहित स्थानीय बासिन्दा बिरोधमा उत्रिएका छन् ।

यता, नेपालगन्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १७ का करिब ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

छोरा बब्लुलाई अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरू दुवैजनालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा बाबु र छोराको मृत्यु भएको डिएसपी घर्तीले बताए । प्रहरीले शव परीक्षणका लागि भेरी अस्पताल पठाएको छ ।

उता बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान खोलामा नुहाउने क्रममा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई बालकको शव नदीबाट निकालिएको हो । मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो । तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।