सीमामा तस्करी : सुरक्षाकर्मी र कर्मचारीकै मिलेमतो


सीमामा तस्करी : सुरक्षाकर्मी र कर्मचारीकै मिलेमतो

भारतीय बजार रुपैडिहाबाट मोटरसाईकलमा सामान तस्करी गरि नेपाल भित्र्याइँदै ।

नेपालगन्ज ७ भदौ : बाँकेस्थित सीमा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी हुने गरेको पाइएकोछ । बाँकेस्थित नेपाल–भारत सीमा नाकाबाट भन्सार छलेर अबैध सामान भित्रिने क्रम बढेपछि यस्तो पाइएको हो ।

भारतको रुपैडिहाबाट तस्करले खुलेआम विभिन्न सामान अबैध रुपमा नेपालगन्ज निर्वाधरुपमा भित्र्याउने गरेका हुन् । सुरक्षाकर्मी र कर्मचारीको संरक्षणमा तस्करहरुले मुख्य नाका जमुनाहा र आसपासमा रहेका अन्य अबैध नाकाबाट दिनहुँजसो सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारतीय बजार रुपैडिहाबाट मालबाहक सवारी साधन, अटोरिक्सा, मोटरसाईकल, स्कुटर, साईकल प्रयोग गरी तस्करले लत्ता कपडा, खाद्यान्न र मोटर पार्ट्स सामान भन्सार छलेर भित्र्याउने गरेका हुन् ।

उनीहरुलाई सुरक्षाकर्मीले नै पहरा दिएर गन्तब्यतर्फ पठाउने गरेको प्रत्यक्षदर्शीले बताए । बाँकेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र भन्सार सुरक्षा गस्तीको काम गर्दै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जको जमुनाहा नाकादेखी चौलिका चोकसम्म करिव आधा दर्जन स्थानमा प्रहरी र सशस्त्र प्रहरीको चेक प्वाइन्ट राखिएको छ । प्रहरी र सशस्त्र प्रहरीको कार्यालय तथा चेकपोष्ट आसपासकै क्षेत्रबाट भन्सार छलेर सामान तस्करी हुने गरेको हो ।

‘तस्करीको सामान अचेल दिनहुँ खुलेआम रुपमा भित्रिरहेको छ,’ चौलिकाका स्थानीयले भने ‘मुख्य सडकमा सुरक्षाकर्मी र कर्मचारीले चेकजाँच गरेको देखिन्छ, तर उनीहरुकै पछाडी भित्री बाटोबाट दिन दहाडै सामान तस्करी भइरहेको छ, सामान तस्करी भएको देखेपनि नदेखे जस्तो गर्छन् ।’ सुरक्षाकर्मी मात्र नभएर भन्सारका केही कर्मचारीले पनि तस्करसँग सेटिङ मिलाएर तस्करी गराइरहेको प्रत्यक्षदर्शीको आरोप छ ।

यस्तै तस्करसँग मासिक रुपमा रकम नै बुझेर सशस्त्र प्रहरीका उच्च अधिकृतले पनि भारतबाट लत्ता कपडा, खाद्य सामाग्री तथा मोटरपार्ट्स भित्र्याउने काम गरिरहेको सेतोखरीलाई स्रोतले जानकारी दिएको छ । ‘तस्करीमा संलग्न ब्यक्तिले मासिक रुपमा पैसा बुझाउँछन्, उनीहरुलाई सशस्त्र प्रहरीका हाकिमहरुले संरक्षण दिइरहेका छन्,’ सीमानाका जमुनाहका एक स्थानीयले परिचय गोप्य राख्न भन्दै बताए ।

स्रोतका अनुसार रातको समयमा भारतबाट तस्करी भएर आउने सामानलाई नेपालगन्जसम्म सहज रुपमा पुर्याउन सशस्त्र प्रहरीका उच्च अधिकृतले आफ्ना जुनियर कर्मचारीलाई समेत खटाउने गरेका छन् ।

सशस्त्र प्रहरी बल नम्बर–३० गण बागेश्वरी बाँकेका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत भने आफू आएपछि तस्करी पुरै नियन्त्रणमा आएको दाबी गर्छन् ।

अरुले भने जस्तो सीमा क्षेत्रमा तस्करी नभएको र यसमा सुरक्षाकर्मीको संलग्नता नरहेको उनको दावि छ । ‘सीमा क्षेत्रमा अहिले चोरी तस्करी पुरै नियन्त्रणमा आएको छ, म आएपछि थुप्रै सामान बरामद गरेका छौं,’ उनले भने ‘खुल्ला सीमाना भएका कारण तस्करी नियन्त्रण गर्न केही चुनौती छ, तर पनि हामी सक्रिय भएर लागिरहेका छौं ।’