गोर्बद्धन धाम मन्दिरमा भारतीय झण्डा, प्रहरी र प्रशासन बेखबर

अध्यक्ष पौडेलको निर्देशनमा नेपाली झण्डा फहराइयो, दोषी पत्ता लगाएर कारबाही गरिनुपर्छ : नाट्टा अध्यक्ष सिग्देल


गोर्बद्धन धाम मन्दिरमा भारतीय झण्डा, प्रहरी र प्रशासन बेखबर

नेपालगन्ज १२ भदौः छिमेकी देश भारतले नेपालको साँस्कृतिक सम्पदामाथी अहिले पनि हस्तक्षेप गर्ने गरेको छ । बाँकेको विकट क्षेत्रमा रहेको एक साँस्कृतिक सम्पदामाथी भारतीय हस्तक्षेप भएको पाइएको हो ।नेपालको साँस्कृतिक सम्पदामाथि प्रहार हुँदासम्म बाँके प्रहरी र प्रशासन बेखबर छ।

बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको सीमानामा पर्ने अम्माखोलीमा पर्छ, गोर्वद्धन धाम मन्दिर । पछिल्लो समयमा गोर्वद्धन धाम मन्दिरमा दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँबाट हिन्दु धर्मका अनुयायीहरु पुग्छन् । तर, उक्त मन्दिरमा भारतीय झण्डा लगाइएको घटना एकाएक बाहिर आयो । मन्दिरमा भारतीय झण्डा कस्ले लगायो ? यसबारे प्रष्ट नभएपनि भारतीयले नै लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

मन्दिरमा भारतीय झण्डा लगाइएको घटना बाहिर आएपछि अहिले उक्त झण्डा हटाएर नेपालको झण्डा लगाइएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको निर्देशनमा नेपाली भूमिमा रहेको उक्त मन्दिरमा नेपालको झण्डा लगाइएको हो । अध्यक्ष पौडेलको निर्देशनमा राप्तीसोनारी ४ स्थित तरुण दलको टोली पुगेर झण्डा लगाएको गाउँपालिका अध्यक्षका सचिवालय सदस्य माधव डाँगीले जानकारी दिए ।

तरुण दल वडा नम्बर–४ का सचिव डम्बर शाहीसहितको टोलीले भारतको झण्डा निकालेर मन्दिरमा नेपाली झण्डा लगाएको उनले बताए । नेपाली साँस्कृतिक सम्पदामा भारतीय हस्तक्षेप भएकोमा स्थानीय बासिन्दाले बिरोध जनाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीलाई जानकारी छैन, बुझ्छौं : डिएसपी घर्तीमगर

नेपाली भूमिमा प्रवेश गरेर गोर्वद्धन धाम मन्दिरमा भारतीय झण्डा फहराइएको विषयमा बाँके प्रहरी अनविज्ञ रहेको पाइएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीमगरले नेपालको भूमिमा भारतीय झण्डा फहराइएको विषयमा कुनै जानकारी नआएको बताए ।

आईतबार बेलुका सेतोखरीसँग कुरा गर्दै डिएसपी घर्तीमगरले भने–‘नेपाली भूमिमा भारतीय झण्डा फहराएको विषयमा कुनै जानकारी छैन । कसैले पनि खबर गरेका छैनन्, के भएको हो हामी बुझ्छौं ।’

‘कानूनीरुपमा कसैले पनि यसरी झण्डा फहराउन पाउँदैन । यसो गरेको पाइए कारबाहीको भागेदार हुन्छ।’ उक्त घटनाबारे आफ्ना प्रतिक्रिया दिदैँ डिएसपी घर्तीमगरले भने–‘दुई देशबीच द्वन्द्व र हिंसा भड्काउने कार्य कसैबाट गरिनुहुँदैन ।’

दोषी पत्ता लगाएर कारबाही गरिनुपर्छ : नाट्टा अध्यक्ष सिग्देल

नेपाली भूमिमा आएर भारतीय झण्डा फराउने कार्य विल्कुल गलत भएको भन्दै दोषी पत्ता लगाएर कारबाही गरिनुपर्ने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

‘यो विल्कुल गलत हो । अवान्छित कार्य हो । दोषीलाई कारबाही गरिनुपर्छ’ नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने–‘सीमानाकाको सामान्य हेक्का नराखी यसरी नेपाली भूमिमा आएर यहाँको साँस्कृतक सम्पदामाथि नै प्रहार गरिनुन दुःखद् छ । दोषीलाई कारबाही होस् ।’

नेपालको पर्यटन क्षेत्रको अवस्था, चुनौती र समस्यासँगै बोकेको प्रचुर सम्भावनाका विषयमा अग्रसर नाट्टा अध्यक्ष सिग्देल आन्तरिक पर्यटन प्रर्बनका लागि उक्त क्षेत्रसमेत आफूहरुको सूचीमा रहेको बताउँछन् ।

‘राप्तीसोनारी र नरैनापुर क्षेत्रको गोर्बद्धन धामसंगै सन्तानेश्वर, बर्फानीबाबा, भुवरभुवानी लगायतका साँस्कृतिक सम्पदाको संरक्षण, सम्र्बद्धन र यसको प्रचारप्रसारका लागि बाँकेबासी अग्रसर भइरहँदा यसरी हाम्रो धरोहर र आस्थामाथि कसैले प्रहार गर्छ त्यो क्षम्य हुँदैन । यसका लागि बाँके प्रहरी र प्रशासनले यथाशिघ्र कदम चालोस्’ अध्यक्ष सिग्देलले भने ।