नेपालगन्जमा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम अभ्यास


नेपालगन्जमा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम अभ्यास

नेपालगन्ज १९ भदौ : नेपालगन्जका दुई वटा वडामा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको घना बस्ती भएका वडा नम्बर– ३ र ७ मा रेडक्रस बाँकेद्वारा सञ्चालित ‘शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना’ले कृत्रिम घटना अभ्यास गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले समुदाय स्तरमा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।

कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानिय स्रोत साधनको प्रयोग सम्बन्धमा अभ्यास गरिएको थियो । घटना अभ्यास कार्यक्रमा वडा स्तरीय विपद् व्यवस्थापन समिति, स्थानीय स्वयंसेवक, रेडक्रसकर्मी सहभागितामा रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यूरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएनडीपी, युएन उमनको साझेदारीमा भएको कृत्रिम अभ्यास कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नम्बर–३ का आयुव सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन इन्जिनियर प्रकाश डीसी, वडाका जनप्रतिनिधि, नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, युनिसेफ नेपालका प्रतिनिधि अशिम श्रेष्ठ, नेपाल प्रहरीको प्रतिनिधि, दमकल सेवाका प्रतिनिधि र स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने सहजिकरण कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृतले गरेका थिए ।

नेरेसो सदरलाइन उपशाखाले रेडक्रस दिवसको रुपमा समुदायमा आयोजना गरिएको कृत्रिम अभ्यासका सिकाईका आधारमा आगामी दिनमा ४ सय स्वयं सेवकलाई खोज तथा उद्दार, प्राथमिक उपचार, आगलागी नियन्त्रण सम्बन्धी तालिम उपलब्ध गराउने योजना रहेको प्राविधिक अधिकृत शिव सुवेदीले बताए ।