नेपालगन्ज २५ भदौ : अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको नोक्सानी गरेको छ । शुक्रबार रातिदेखि परेको पानीका कारण आएको बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् ।
पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।
बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए । उनका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् ।
दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । यो समाचार तयार पार्दा (शनिबार राति)सम्म बेपत्ताहरुको अवस्था पत्ता लगेको छैन । अब आईतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ ।
महाकाली नगरपालिकाको लास्कुखोलामा आएको बाढी ।
महालकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ भने एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ । बाढीपहिरोमा परेर २६३ पशुचौपाया मरेका छन् भने ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा डोजर हराएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिराले महाकाली नगरपालिकाका १, २, ३ र ३ नम्बर वडा र नौगाड गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडा प्रभावित भएका छन् । प्रभावित भएकाहरुलाई तत्काल स्थानीय विद्यालय तथा सार्वजनिक भवनहरुमा व्यवस्थापन गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा राखेर खानाको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । कतिपय मानिस भने आफन्तकोमा बास बसेको प्रहरीको भनाइ छ ।
तीन मन्त्री दार्चुलामा
बाढीपहिरो प्रभावितका लागि राहतका सामाग्री लिएर संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसहितका तीन जना मन्त्री दार्चुला पुगेका छन् ।
बडुसँगै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका हुन् । उनीहरु प्रभावितहरुका लागि खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहत सामग्री लिएर दार्चुला पुगेको प्रदेश सरकारले जनाएको छ ।
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता