घरेलु मैदानमा नेपालको लज्जास्पद हार, ऐतिहासिक उपलब्धिबाट पुनः चुक्यो नेपाल


घरेलु मैदानमा नेपालको लज्जास्पद हार, ऐतिहासिक उपलब्धिबाट पुनः चुक्यो नेपाल

नेपालगन्ज ३ असोज : साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले उचालेको छ । योसंगै साफ महिला च्याम्पियनसिपमा नेपाल पाचौँ पटक उपाधि नजिक पुगेर टाढिएको छ ।

पहिलो हाफमै दुई गोल खाएपछि नेपाल सोमबार ऐतिहासिक उपलब्धिबाट चुकेको हो । घरेलु मैदानमा पहिलोपटक साफको उपाधि उचाल्ने नेपालको सपनालाई बंगलादेशले चकनाचुर बनाइदिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो । दोस्रोपटक फाइनल खेलेको बंगलादेशले उपाधि जितेको यो पहिलोपटक हो । बंगलादेशले २०१६ मा पनि फाइनल खेलेको थियो ।

यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाली टोलीले यो पटक पनि त्यो छविलाई हटाउन सकेनन् । बंगलादेशका लागि श्रीमती कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरिन् ।

Kids Festival 2022
kanti aarogya hospital

खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाइन् । खेलका सुरु भएको दुई मिनेटमा नै दीपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन् ।

खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् । खेलको १० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन् ।

खेलको ३५ औँ मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो । विपक्षी खेलाडीले अनिता बस्नेतलाई लगाएपछि नेपालले फ्रिकीकको मौका पाएको थियो । खेलको ४१ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

खेलको दोस्रो हाफमा अनिता केसीको स्थान लिदै सावित्रा भण्डारी मैदान प्रवेश गरेकी थिइन् ।

खेलको ४८ औँ मिनेटम अनिता बस्नेतको कर्नरमा अनिता जैसीको हेडर किपरले बचाउ गरिन् । ५२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा रश्मी कुमारी घिसिङको हेडर पोष्टबाट बाहिरियो ।

खेलको ७० औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ७४ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्रा भण्डारीको प्रहार पोष्टबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो ।
७७ औँ मिनेटमा श्रीमती कृष्ण रानी सरकारले गोल गर्दै बंगलादेशलाई ३–१ को अवस्थामा ल्याइन् ।

नेपाली चेलीहरूको आह्वानमा समर्थक रंगशालामा ओहिरिएका थिए । रंगशालामा उपस्थित झण्डै १६ हजार दर्शकलाई स्तब्ध बनाउँदै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाघि उचालेको छ ।

यससँगै बंगलादेश प्रतियोगिताको नयाँ विजेता बन्न सफल भएको छ । यसअघि सम्पन्न पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । तर, यसपटक भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल भने पुनः एकपटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

नेपाल यसअघि २०१०, २०१२, २०१४ र २०१९ मा पनि उपविजेता बनेको थियो । यसअघि सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपाललाई उपाधि यात्रालाई बंगलादेशले पूर्णविराम लगाइदिएको छ । साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको यो पहिलोपटक हो ।

२०१० र २०१९ मा नेपाल बंगलादेशसँग समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । तर, विगतको नतिजालाई नेपालले घरेलु मैदानमा भने दोहर्याउन सकेन ।

थप समाचार

भारतमाथि नेपालको ऐतिहासिक जित