सल्यान दुर्घटना : शोकमा डुब्यो जलवाङ

एकै परिवारका ४ जनासहित ८ जनाको मृत्यु


सल्यान दुर्घटना : शोकमा डुब्यो जलवाङ

नेपालगन्ज १२ असोज : बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप बुधबार बिहान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएकोछ । कपुरकोट जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्वरको जीप बुधबार बिहान करिब १ बजे कपुरकोट गाउँपालिका वडा नम्बर– ३ मुलपानीमा दुर्घटना भएको थियो ।

मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर– ६ जलवाङका स्थानीयबासी हुन् । उनीहरु सबै बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्कँदै गर्दा दुर्घटनामा परेको हो । एकै ठाउँका ७ जनाको ज्यान गएपछि यतिबेला जलवाङ गाउँ शोकमा डुबेको छ । एकै घर–परिवार भित्रका चार–पाँच जनाको मृत्यु हुँदा दशैंको उल्लास आँशुमा बदलिएको छ ।

दुर्घटनामा परी जीप चालक कपुरकोट–६ जलवांगका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनको छोरा ११ वर्षीय वसन्त ओली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली र कपुरकोट ५ रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

उनीहरूको शवलाई पोष्टमार्टमको लागि सल्यान अस्पताल लगिएको छ । घाइते कपुरकोट– ६ जलवांगका ३५ वर्षीय तिलक ओलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । जीपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेकोमा तिलक ओली मात्र घाईते भएका छन् । भने बाँकी सबैको ज्यान गएको छ । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उपचाररत ओलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको हो । ‘मैले त गाडी खसेपछि मात्रै थाहाँ पाएँ,’ उनले भने, ‘गाडीमा हामी सबै निदाएका थियौं । सायद चालक पनि निदाएपछि गाडी दुर्घटना भयो ।’

कपुरकोट– ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराका अनुसार कपुरकोट– ५ बाट बसाई सरि बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा उनीहरू आफ्नै घर नजिकै आइपुग्दा दुर्घटनामा परेको बताए ।

एकै घर परिवार भित्रका बाबु–छोरा, काका र ठूला बुवाको मृत्यु भएको उनले बताए । ‘गाउँमा मात्रै होइन एकाबिहानै आठ जनाको मृत्युको खबरले पुरै जिल्ला शोकमग्न भएको छ,’ उनले भने, ‘सल्यानले फेरि एउटा कल्पना नगरेकै ठूलो बिपत्ति खेप्नुप¥यो ।’

घाइते तिलक ओलीको दुबै खुट्टामा गम्भीर चोट लागेको छ । ‘उनको घुडा मुनीबाट दुबै खुट्टा फ्याक्चर भएका छन्,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तुलसीपुरमा उपचार सम्भव नभएपछि ब्लड रोक्ने प्रयास गरि हामीले बाँके रिफर गरेका छौ ।’

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्ने एकिन साथ भन्न कठिन भइरहेको बताए ।

‘गाडी एकदमै ओरालोबाट करिब दुई सय मिटर तल खसेको छ,’ उनले भने, ‘चालक निदाएर दुर्घटना भएको हो वा ब्रेकले काम नगरेर दुर्घटना भयो, त्यो अनुमान गर्न सजिलो छैन ।’

प्रहरीले पनि चालक निदाएका कारण गाडी दुर्घटनमा परेको हुनसक्ने अनुमान गरेको छ ।