नेपालगन्जमा दिनहुँ खेलिन्छ करोडौंको जुवा, एसपी भन्छन्ः थाहा छैन


नेपालगन्जमा दिनहुँ खेलिन्छ करोडौंको जुवा, एसपी भन्छन्ः थाहा छैन

File Photo

नेपालगन्ज १३ असोज : चाडबाडका बेलामा मात्रै होइन बाँकेमा वर्षभरी नै जुवा हुने गरेको छ । नेपालगन्जमा भइरहेका जुवा खालबाट जुवा हारेर कयौं परिवार तहसनहस भइसकेकोछ । नेपालगन्जमा सामान्य घरदेखि स्टार होटलमा करोडौंको जुवा भइरहेकोछ ।

जुवा खेल्ने खेलाडीहरु केही नयाँ त छन् नै धेरैजसो २–३ पटक जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा बसिसकेका पट्के जुवाडेहरु छन् ।

दाङ, बाँके र टिकापुरका नामुद जुवाडेहरु यतिखेर नेपालगन्जमा जुवा खेलिरहेकाछन् । तर, बाँके प्रहरीले भने जुवा खेलिरहेको थाहा नभएको हल्लामात्र सुनेको, खेलेको ठाउँको जानकारी पाउने वित्तिकै समात्ने बताईरहेकोछ ।

बाँके प्रहरीले यसअघि जुवालाई निस्तेज पार्न जुवाखालमा छापा हान्ने देखि पटके जुवाडेमाथि निगरानी बढाउँदै आएको थियो । तर, चाडबाडसंगै पुनः बाँकेमा दिनहुँ करोडौं रुपैयाँ हारजीत हुने गरि जुवा खेलिरहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जमा जुवा खेल्नकै लागि छिमेकी जिल्ला दाङ, टिकापुरबाट नामुद जुवाडेहरु नेपालगन्ज आएकाछन् । नेपालगन्ज आएका यी जुवाडेहरु होटल बुक गरि र केही ब्यक्तिको घरमा डेरा जमाएर दिनहुँ करोडौं रकम हारजित हुने गरि जुवा खेल्ने गरेका हुन् ।

चाडबाडकै मुखमा नेपालगन्जमा जुवा नाइकेहरु छोटो समयमा ठूलो रकम कमाउनकै लागि जुवा अखडा चलाइरहेका छन् । चाडबाड नजिकिएसंगै नेपालगन्ज र आसपासका क्षेत्रमा स्थानीय जुवा नाइकेहरुले दिनहुँ करोडौं रकम हारजित हुने गरि जुवा खेलाइरहेका हुन् ।

नेपालगन्जको न्यूरोड स्थित होटल कल्पत्रुमा दिनहुँ जुवा भइरहेकोछ । भने नेपालगन्जका विभिन्न ब्यक्तिको घरमा समेत जुवा भइरहेकोछ ।

चाडबाड भित्रिएसंगै बाँकेमा जुवा खेल्ने र खेलाउनेको संख्या बढेको छ । चाडबाड लक्षित बाँके प्रहरीको सुरक्षा योजनामा जुवातास निस्तेज पार्ने अभियान समेत रहेको भएपनि सोही अनुरुप प्रहरीले आफ्नो सक्रियता नदेखाएकै कारण यतिबेला बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्र जुवा अखडा बनेको हो ।

यी क्षेत्रमा यसअघि जुवाखालबाट पक्राउ परेका नामुद जुवाडे, पटके जुवाडेसंगै छिमेकी जिल्ला दाङ, कैलाली र भारतका विभिन्न स्थानबाट जुवा खेल्नकै लागि आउने गरेकाछन् ।

त्यसो त बाँके जिल्ला जुवाका लागि चर्चित छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी, भूपू कर्मचारी र प्रतिष्ठित उद्योगी ब्यापारीहरुकै राम्रो साँठगाँठमा जुवा हुने गरेको यसअघि जुवा काण्डबाट पुष्टि भइसकेकोछ ।
जबजब जाडबाड नजिकिन्छ तबतब बाँकेका विभिन्न नामुद जुवा अड्डाहरुमा जुवा नाइकेको रजगज नै चल्छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जुवा खेलका विषयमा आफूलाई जानकारी नभएको बताए ।

‘जुवा खेल भइरहेको हल्ला सुनेको छु’ एसपी अधिकारीले सेतोखरीलाई भने–‘कहाँ जुवा भइरहेको छ त्यो थाहा पाउने वित्तिकै म कारबाही गर्छु, जुवा खेल्ने र खेलाउनेलाई म छाड्दिन ।’

चाडबाड नजिकिएसंगै हुने जुवा निस्तेज पार्न आफू लागि परेको बताउँदै एसपी अधिकारीले भने–‘जुवा सम्बन्धि कडा कानूनको अभाव छ, पक्राउ पर्नेहरु पछि छुटेर पुनः जुवा खेल्न र खेलाउन थाल्छन् ।’
प्रहरीले जुवा भइरहेको सूचना पाए लगत्तै छापा हानेर जुवा खेल्ने र खेलाउनेलाई कारबाही गर्ने एसपी अधिकारीले बताए ।