कालिकोटमा मलामी गएका १३ जनाको मृत्यु (नामावलीसहित)


कालिकोटमा मलामी गएका १३ जनाको मृत्यु (नामावलीसहित)

प्रतीकात्मक तस्विर

नेपालगन्ज २४ असोज : कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आईतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो ।

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी भएको छ । उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए ।

उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर–४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन् । स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आईतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए ।

घाटमा पुगेकामध्ये १३ जनालाई पहिरोले पुरेको अन्य मलामीको भनाइ उद्धृत गर्दै उपमेयर शाहीले १३ जनाको मृत्यु भइसकेको पुष्टी गरे । शाहीले भने, ‘घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोले १३ जनाको मृत्यु भएको पुष्टि जस्तै भइसकेको छ । उनीहरु पहिरोमा परेका मलामी गएका अन्यले देखेका छन् । अब उनीहरुलाई जिवित भेट्ने सम्भावना छैन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

स्थानीयले सोमबार बिहान खबर गर्दा १५ जना सम्पर्कविहीन भएको सूचना दिए पनि प्रहरी घटनास्थल पुग्दा १३ जना बेपत्ता भएको पाइएको थियो । आईतबार दिउँसो एक बजेतिर तीला नदीमा मलामी गएका उनीहरु माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना रहेका छन् । बिहान प्रहरी चौकी नाग्मगाड र खललागाडबाट दुई टोली जेसिबीसहित घटनास्थल पठाइएको थियो ।

बेपत्ताहरुको नामावली संकलन भइसकेको र उनीहरुको खोजी गर्ने काम जारी राखेको प्रहरीले जनाएकोछ । कर्णाली राजमार्गको सात÷आठ ठाउँमा पहिरो खसेकाले जिल्लाबाट उद्धारका लागि जान सक्ने अवस्था नभएको र स्थानीयको सहयोगमा घटनास्थल पुगेका प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकोछ ।

पहिरोमा बेपत्ता भएकाहरुको नामावली

पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।

राँचुली गाउँ खाली गराइयो

राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको उपमेयर शाहीले बताए । अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ । अहिले त्यहाँ उद्धारको काम भइरहेको उपमेयर शाहीले बताए ।

थप समाचार

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता