बाढीले बगाउँदा रुखमा अड्किएका दुई जना युवकको उद्धार गर्दै सुरक्षाकर्मीहरु । तस्विर सौजन्य : खगेन्द्र दाहाल
नेपालगन्ज २४ असोज : बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीद्वारा उद्धार गरिएको छ ।
खजुरा गाउँपालिका– २ ‘के’ गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि सकुसल उद्धार गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा–२ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए ।
उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताए ।
भारतबाट फर्किएका उनीहरुले पानी घटेको अनुमान गरेर खोला पार गर्न खोज्दा खोलाको बहावले बगाएको थियो । तर, खोला बगेको ठाउँमा बबुरका ठूला रुखहरु समेत रहेकाले रुख समातेर ज्यान जोगाउन सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताए ।