बझाङमा जीप दुर्घटना : ७ जनाको मृत्युु, १६ जना घाइते


बझाङमा जीप दुर्घटना : ७ जनाको मृत्युु, १६ जना घाइते

नेपालगन्ज २ कार्तिक : बझाङको मस्टा गाउँपालिका– १ चिउरी नजिकै जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १६ जना गम्भीर घाईते भएकाछन् ।

सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडा नजिकै बुधबार दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो ।

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

मृतकमध्ये चार जनाको सनाखत भएको छ । मष्टा गाउँपालिका– २ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी र ११ वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको र बाँकी ३ जनाको सनाखत भइनसेको प्रहरीले जनाएकोछ ।

जीप दुर्घटनामा घाइते हुनेमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय जिप चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कि देवि भण्डारी रहेका छन् ।

यसैगरी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा– १ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह र २२ वर्षीय हेमन्ती सिंह रहेका छन् ।

जीप भिरालो क्षेत्रमा दुर्घटना भएकाले उद्धारमासमेत कठिनाइ भएको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा पठाएका छन् ।