नेपालगन्ज १३ कार्तिक : नेपालगन्जमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । चुरा गोदाममा भएको आगलागीबाट मोहम्मद आरिफ अन्सारी घाईते भएका हुन भने उनका साला समीर ओलीको मृत्यु भएको हो । आगलागीबाट चुरा गोदाममा ठूलो क्षति समेत पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आईतबार बिहान करिब ५ः४० बजेको समयमा नेपालगन्ज–५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मोहम्मद आरिफ अन्सारीको चुराको गोदाममा एक्कासी आगलागी भएको थियो ।
अन्सारीले चुरा गोदामका लागि भाडामा लिएको सो घरमा आगलागी हुँदा गम्भीर घाइते भएर उपचारका लागि भेरी अस्पताल पु¥याइएका समीरको मृत्यु भएको हो ।
बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समीर ओलीको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार घाइते गोदामका सञ्चालक आरिफको भेरी अस्पतालमा उपचार भएर खतरामुक्त रहेको बताए । मृतक ओली शनिबार मात्रै आफ्नो दिदी भिनाजुलाई भेटघाट गर्न त्यहाँ आएका थिए । राति सोही घरमा बसेका बेला एक्कासी आगलागीमा समीर परेका हुन् ।
एसपी अधिकारीले भने –‘साला समीर घरभित्र र भिनाजु बाहिर सुतीरहेका बेला एक्कासी गोदाममा आगलागी भएको थियो । आगलागीबाट गोदामका सबै चुरा जलेर नष्ट हुनुको साथै विस्फोट हुँदा धेरै क्षति भयो ।’
आगलागीसंगै विस्फोट भएको विषयमा जानकारी दिदैँ एसपी अधिकारीले भने–‘कहिलेकाँही आगोका ज्वाला बाहिर निस्कन नपाउँदा विस्फोट हुने गर्छ । ग्यास पड्किएको कुनै अवशेष पाइएन, विस्फोटक पदार्थ नै पड्केको हो की भन्दा बारुद लगायतका कुनै पुष्टि हुने बस्तु भेटिएन । यो आगो गुम्सिएर भएको विस्फोट हो यद्यपी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेकाछौं ।’
आईतबार बिहान करिब ५ः४० बजे लागेको आगो स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण अझैं पत्ता लागेको छैन् । यद्यपी प्रहरीले आगलागीको कारण खोजिरहेकोछ । भने आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आएको छैन ।