नेपालगन्ज २३ कार्तिक : निर्वाचन लक्षित नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउन दुई देशका उच्च अधिकारीबीच बैठक शुरु भएकोछ ।
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको समन्वय बैठक नेपालगन्जमा भएको हो ।
बैठकमा नेपाल तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतीय सीमावर्ती जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) सहित जिल्ला तहका प्रहरी र एसएसबीका प्रमुखहरु सहभागी छन् ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभावकारी बनाउने र निर्वाचनको मतदानका बेला सीमानाका बन्द(शील) गर्ने लगायत लागुऔषध नियन्त्रण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपराध गरेर छिमेकी जिल्लाहरुमा लुकी छिपी बस्ने अपराधीमाथि कारबाही, चेलिबेटी बेचबिखन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसंग सम्बन्धित बिषयमा छलफल हुने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए ।
नेपाल र भारतमा निर्वाचन हँुदा मतदानको बेला ७२ घण्टासम्म नेपालगन्ज रुपैडिहा लगायत बाँके र बर्दिया जिल्लाका नाकाहरु बन्द गर्ने गरिएको छ । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला नेपाल–भारत सीमानाकामा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती समेत गरेका थिए ।