ट्राफिक व्यवस्थापन गर्दै नगरप्रहरी, जथाभावी पार्किङ गरे ‘ह्वील लक’


ट्राफिक व्यवस्थापन गर्दै नगरप्रहरी, जथाभावी पार्किङ गरे ‘ह्वील लक’

नेपालगन्ज १ पुष : ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न अव्यवस्थित पार्किङमा कडाई गर्न थालिएकोछ ।

अब्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनप्रति सर्वसाधरणको गुनासो बढेपछि कोहलपुर नगर प्रहरीले जथाभावी पार्किङ गरिने सवारी साधनको ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) गर्ने अभियान थालेको हो ।

कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्याधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारबाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘ह्वील लक’ अभियानअन्तर्गत नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको छ ।

कोहलपुरको भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

‘सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौं,’ उनले भने, ‘निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारबाही गर्नेछ ।’

कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ । कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियान अन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।

यसअघि बाँके ट्राफिकले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएका सवारीसाधन ब्यबस्थित गर्न अभियान थालनी गरि अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई व्हिल लगाएर जरिवाना समेत गराउँदै आएको थियो । तर, कोरोना संक्रमण तथा कार्यालय प्रमुखको फेरबदलले उक्त कार्य रोकिएको थियो ।