राप्तीपारी पुनः पाटेबाघ देखियो, स्थानीयबासी त्रसिद


राप्तीपारी पुनः पाटेबाघ देखियो, स्थानीयबासी त्रसिद

नेपालगन्ज १२ पुष : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ स्थित एक सामुदायिक वनभित्र स्थानीय बासिन्दाहरु पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् ।

राप्तीसोनारी ५ स्थित सिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघलाई फेला पारेका हुन् । करीब एक वर्षपछि राप्तीपारी सामुदायिक वन क्षेत्रमा पुनः पाटे बाघ देखा परेको हो ।

पाटेबाघलाई देखेपछि करिव १२÷१५ जनाको संख्यामा पुगेका स्थानीय बासिन्दाले हो–हल्ला गरेका थिए । त्यसपछि बाघ त्यहाँबाट भागेको र स्थानीय बासिन्दाहरु बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक प्रविण डिसीले जानकारी दिए ।

‘धेरै संख्यामा महिला र पुरुष जंगलमा भएका कारण हो–हल्ला गरेपछि बाघ भागेको रहेछ, नत्र बाघले आक्रमण गर्न सक्थ्यो,’ उनले भने । राप्तीपारीको जंगलमा बाघ रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था आएको प्रहरी ईन्चार्ज डिसीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गतवर्ष पनि राप्तीसोनारीको वडा नम्बर ४, ५, ६ र ७ को जंगलमा पाटेबाघले आतंक मच्चाएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज लगायतको टोलीले बाघलाई नियन्त्रणमा लिएर चितवन पुर्याएको थियो ।

पाटेबाघले यसवर्ष पनि राप्तीपारी क्षेत्रमा आतंक मच्चाउन सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनअघि मात्र सो क्षेत्रमा बाघले दुई वटा बाख्रा र एउटा सुँगुर मारेको थियो ।