३० हजार डोज दादुरा रुबेलाको खोप नेपालगन्ज आइपुग्यो


३० हजार डोज दादुरा रुबेलाको खोप नेपालगन्ज आइपुग्यो

नेपालगन्ज २८ पुष: दादुराको महामारी फैलिएको बाँकेमा ३० हजार डोज दादुरा रुबेलाको खोप आइपुगेकोछ । बिहीबार बेलुका उक्त खोप नेपालगन्ज आइपुगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार दादुरा रुबेलाको खोप १६ हजार ५ सय डोज स्टकमा रहेकोमा हालसम्म ७ हजार ५०० खोप खपत भइसकेको छ । कुल ९ हजार खोप मात्र बाँकी रहेकाले थप माग गरिएको कार्यालयले जनाएको छ । उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत प्राप्त भएको हो ।

दादुरा रोगको नियन्त्रणका लागि पहल गरिरहेको र खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने प्रयास गरिरहेको श्रेष्ठले बताए । रोगको लक्षण देखिने बित्तिकै उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित ठाउँमा पठाउने गरिएको छ ।

बाँकेमा दादुराका बिरामी बढ्न थालेपछि यही पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरिएको छ। बिरामीको संख्या बढ्दै गएपछि बाँकेमा बिहीबारदेखि १५ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएकोछ । यसअघि बुधबार १३ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो । बिहान १० बजेदेखि ४ बजेसम्म खोप अभियान सञ्चालन भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउनक्रम जारीछ । आफ्ना बालबालिकाहरुलाई खोप केन्द्रमा लगेर खोप लगाउन श्रेष्ठको आग्रह गरे ।

बुधबार मात्र ३ हजार २१३ जनालाई दादुरा रुबेलाको खोप लगाइएको कार्यालयको तथ्यांक छ । एक हजार ५२४ बालिका र १ हजार ७०७ बालक गरी ३ हजार २१३ जनालाई खोप लगाइएको हो । यो सँगै बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ७ हजार १६३ पुगेको छ ।

बाँकेमा हालसम्म ११५ जनामा दादुरा रोग देखिएको छ । नेपालगन्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा देखिएको हो । वडा नम्बर १ मा २, वडा नम्बर मा २ र वडा नम्बर १६ मा १ गरी पाँच जना दादुरा बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोे छ ।

हाल ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र २ जना अस्पताल भर्ना गर्नु परेको कार्यालयले जनाएको छ । ५२ जना बिरामी भने उपचारपछि निको भएका छन् । योसँगै दादुराको महामारी फैलनबाट रोक्न बिहीबार र शुक्रबार गरि दुई दिन नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय बन्द गरेकोछ । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो ।

थप समाचार

नेपालगन्जका ११० जनामा दादुरा, दिनहुँ १८ संक्रमित भेटिन्छन्

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित