सिडियोद्वारा सीमा क्षेत्रको आकस्मिक अनुगमन, सुरक्षा व्यवस्था कडा पार्न निर्देशन


सिडियोद्वारा सीमा क्षेत्रको आकस्मिक अनुगमन, सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

नरैनापुर (बाँके) १८ माघ : बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

सीमा क्षेत्रको अनुगमन गर्न पुगेका प्रजिअ आर्चायले ईलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरीक्षण गरेका थिए । सोक्रममा गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै ईलाका प्रशासन सुरु गर्ने उनले बताए ।

पहिलो पटक नरैनापुर पुगेका प्रजिअ आचार्यलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर–१ का अध्यक्ष इसाक जोलाह, वाड नम्बर–२ का अध्यक्ष मसूद अहमद शाह, र वडा नम्बर–४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानूनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए ।

‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ आचार्यले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ ।’

प्रजिअसंगै अनुगमनमा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, अनुसन्धानका एसपी मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।