राप्तीसोनारीको सेवा प्रभावित


राप्तीसोनारीको सेवा प्रभावित

File Photo

नेपालगन्ज २० माघ : बाँकेको राप्तिसोनारी गाउँपालिकाको सेवा प्रवाह प्रभावित बनेकोछ । प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री निलम्बनमा परेपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित बनेको हो ।

भ्रष्टाचार आरोपित प्रमुख प्रशासकीय अधिकृत खत्री निलम्बनमा परेसंगै गाउँपालिकाको सेवा प्रवाह प्रभावित बन्दा सेवाग्राही सेवा लिनबाट बञ्चित बनेकाछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सो आरोपपत्र दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत खत्री निलम्बनमा परेपनि गाउँपालिकाको सेवा प्रवाह भने नरोकिएको पालिका अध्यक्ष तप्त बहादुर पौडेलले दावि गरे ।

Kids Festival 2022
kanti aarogya hospital

पालिकाले हाललाई गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरि आर्थिक अधिकारबाहेक प्रशासनीक र अन्य अधिकारसहित आर्थिक प्रशासन शाखा प्रमुख तथा लेखा अधिकृत गौरव कुमार लामिछानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएको बताए ।

‘खत्री जीले सल्यानको कालिमाटी गाउँपालिकामा रहँदा भ्रष्टाचार गरेको आरोप छ । उहाँ निलम्बनमा परेपछि पालिकाको सेवा प्रवाह नरोकियोस भनेर आर्थिक अधिकार बाहेक सबै प्रशासनिक अधिकार हामीले लेखा शाखा प्रमुखलाई दिएका छौं । उहाँले योजनाहरुको सम्झौता, अनुगमन र निरीक्षण लगायतका काम गर्नुभएको छ । तर, आर्थिक अधिकारसहितको काम गर्नका लागि भने सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउनुपर्दछ’ उनले भने ।

निलम्बनमा परेका खत्री बाँकेको राप्तिसोनारी गाउँपालिकामा आउनु अघि सल्यानको कालिमाटी गाउँपालिकामा कार्यरत थिए ।

खत्री सहित सल्यान गाउपालिकाका उपाध्यक्ष र वडाध्यक्ष लगायत ७ जनामाथि आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कालीमाटी–७ स्थित घुइँयावारी (रिङरोड योजना) मुल सडक विस्तार नाला सुधार तथा ग्राभेल योजनामा अनियमितता गरेको आरोप लागेको छ ।