‘होटल डायमण्ड प्यालेस’ को अटेरीः अदालतको आदेश लत्याएर ब्यक्तिगत जमिनमाथी ‘धावा’

सरकारी र सार्वजनिक जमिन ‘हडप्ने’ होटेल सञ्चालक ब्यक्तिगत जमिनमाथी आँखा लगाउँदै, म असुरक्षित महसुस गरिरहेको छुः श्रेष्ठ


‘होटल डायमण्ड प्यालेस’ को अटेरीः अदालतको आदेश लत्याएर ब्यक्तिगत जमिनमाथी ‘धावा’

नेपालगन्ज २३ माघ : अदालतले दिएको आदेश लत्याएर नेपालगन्जका एक होटल तथा क्यासिनो ब्यवसायीले सरकारी तथा सार्वजनिक जमिन हडपेको बताइएकोछ ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले दिएको आदेश लत्याएर ब्यक्तिगत जमिनमाथी धावा बोलेका ‘होटल डायमण्ड प्यालेस’ प्रालि (साविक सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सुरेन्द्र बहादुर सिंहले सरकारी तथा सार्वजनिक जमिन हडपेर संरचना बनाएका र साँधमा रहेको ब्यक्तिगत जमिन हड्पन खोजेपिछ यस्तो आरोप लागेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ जय बागेश्वरी स्कुल नजिक रहेको ‘होटल डायमण्ड प्यालेस’ प्रालि (साविक सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सुरेन्द्र बहादुर सिंहले ब्यक्तिगत जमिनमा समेत आँखा लगाएर दुःख दिइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा आरोप लागेको हो ।

सरकारी र सार्वजनिक जमिन मिचेर निर्मित होटलले आफ्नो ब्यक्तिगत जमिनमा समेत आँखा लगाएर हडप्न खोजिरहेको छिमेकी सुरेन्द्रकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । साविक सिग्नेट ईन कृष्णा होटल रहेको उक्त जग्गालाई होटल तथा क्यासिनो सञ्चालक सिंहले ब्यवसायी दिपेन्द्र अग्रवालसँग केही समयअघि खरिद गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

होटल सञ्चालकले आफ्नो जमिन हड्प्न खोजेपछि श्रेष्ठले ‘निषेधाज्ञा’ माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट समेत दायर गरेका थिए । अदालतले विपक्षी सिंह विरुद्ध यही माघ २० गते अन्तरिम आदेश जारी गरिसकेको छ । तर, होटल तथा क्यासिनो ब्यवसायी सिंहले अदालतको अन्तरिम आदेशलाई अटेरी गर्दै सोही दिन आफ्नो पर्खाल लगायत भौतिक संरचनामाथी नम्बर नखुलेको डोजर अन्धाधुन्ध चलाएको श्रेष्ठले आरोप लगाएका हुन् ।

सिंहले होटल र क्यासिनोका ‘गुण्डा’ प्रयोग गरेर जवरजस्ती डोजर चलाउँदा करिव १७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको उनले सुनाए । होटलले बिना नम्बर प्लेटको डोजर प्रयोग गरी दादागिरी शैलीमा संरचना भत्काएको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा श्रेष्ठले होटल तथा क्यासिनोका महेन्द्र चन्द र पुस्कर हमालले आफुमाथी डर, त्रास देखाइरहेको दुखेसो पोखे । उनले भने–‘अदालतको आदेशलाई लत्याएर मेरो ब्यक्तिगत जमिन हड्पने योजनासहित डोजर चलाउँदा भौतिक संरचनामा क्षति भयो । यसको विरुद्ध बोल्दा मलाई धाकधम्की समेत दिइयो ।’

श्रेष्ठले २०५९ सालमा १७१ नम्बर कित्ता रहेको २ कठ्ठा साढे १४ धुर जमिन किनेर २०६४ सालमा घर निर्माण गरेको बताएका छन् । ‘मैले त्यतिबेला नगरपालिकाबाट नक्सापास गरेर घर बनाएको थिए, म विगत ४÷५ वर्षदेखी श्रीमतीको उपचारका लागि काठमाडौंतिर ब्यस्त भएको मौका छोपेर नयाँ नापी गराएर मेरो जग्गा हडप्न खोजेको नियत देखिन्छ,’ श्रेष्ठले बताए ।

साविकका जग्गाधनी अग्रवालले १४ कठ्ठा जमिनमा सरकारी, सार्वजनिक र ब्यक्तिगत जमिन हडपेर अहिले १८ कठ्ठा पुर्याएको उनको जिकिर छ । उक्त होटलले अर्का स्थानीय योगेन्द्र स्वाँरको करिव ८ धुर र कालिमाई मन्दिरको करिव ४ कठ्ठा जमिन समेत हडपेको र आफ्नो पनि करिव ५ धुर जमिन अहिले हडप्ने प्रयास गरिरहेको श्रेष्ठले सुनाए ।

अदालतको अन्तरिम आदेश विरुद्ध होटल सञ्चालकले आफ्नो संरचनामा जबरजस्ती डोजर चलाएपछि अदालतमा पुनः अवहेलना मुद्दामा दायर गरिएको श्रेष्ठले बताए । ‘मुद्दा हाले नराम्रो हुने भन्दै मलाई अहिले पनि उनीहरु डर, धम्की दिइरहेका छन्, मेरो ज्यान जोखिममा छ,’ उनले भने ‘ज्यान सुरक्षा गरि पाउँ भनेर मैले माघ १९ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइसकेको छु । तर, प्रहरी र प्रशासनबाट मैले सहयोग पाउन सकिन ।’

उनले आफ्नो जमिनमा बनेको घरसंग सटाएर दक्षिणतर्फ ‘होटल डायमण्ड प्यालेस’ प्रालिले बनाएको स्टिल स्ट्रक्चरको ७ तले भवनका कारण जोखिममा रहेको बताए । श्रेष्ठले भने–‘स्टिल स्ट्रक्चमा बनेको ‘७ तले जुवाघर’ भूकम्पिय दृष्टिकोणले कति सुरक्षित छ ? नक्शा पास विनै यस्तो भवन बनाउन पाइन्छकी पाइदैन ? उक्त भवन बनाउँदा निर्माण सामाग्रीका आफ्नो जमिनमा खस्ने गरेको र त्यसले निम्त्याउने जोखिमको जिम्मेवारी को बन्ने ? भूमाफिया र गुण्डागर्दी शैलीमा ब्यक्तिगत जमिनमाथि धावा बोल्नेलाई कारबाही किन हुँदैन ?’

सरकारी, सार्वजनिक र ब्यक्तीगत सम्पत्तीमाथी आँखा लगाउनेमाथी छानविन गरिदिन उनले सम्वद्ध निकायसँग आग्रह गरेका छन् । आफुसँग सबै प्रमाणहरु रहेको श्रेष्ठको दाबी छ ।

श्रेष्ठले यस विषयमा नापीको समेत ध्यानाकर्षण गराउँदा कुनै वास्ता नगरिएको गुनासो पोखे । उनले यो प्रकरणमा भूमाफियाको संलग्नता रहेको आरोप लगाए । नापीको भूमिकाप्रति पनि उनले शंका व्यक्त गरे । अदालतको आदेश विपरीत जबर्जस्ती गरिँदा पनि न्याय नपाएको भन्दै उनले न्यायका लागि पहल गरिदिन आग्रह गरे ।