फाल्कोन स्पोर्टस क्लब विजयी


फाल्कोन स्पोर्टस क्लब विजयी

नेपालगन्ज २५ माघ : नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बुधबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ ।

मंगल प्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगन्ज थण्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज थण्डरले २०ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगन्ज थण्डरका लागि फिरोज हास्मीले सर्वाधिक ३४ रन बनाए । ओपनर राहुल कनोजियाले १५ रन तथा गुडु केवटले १२ रनको योगदान गरे ।

वलिङ तर्फ फाल्कोनका लागि सुनिल चौहानले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच सुनिलले ४ ओभरमा १२ रन दिएका थिए । यसैगरी फाल्कोनका सुमन गुरुङले २ विकेट लिन सफल भएका थिए ।

जवाफमा फाल्कोनले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फाल्कोनका लागि नितेश विष्टले अविजित ३७ रनको योगदान गरे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरेकाथिए । इमरान हलवाईले १७ रन, सुमन गुरुङले ११ रन र ओपनर राजकुमार थापाले १० रन बनाए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज थण्डरका लागि मोहम्मद हुसेन खानले सर्वाधिक ३ विकेट, इमरान जरगरले २ विकेट लिन सफलभए ।

यसैगरी महिलातर्फको खेलमा बालशिक्षा स्कुलले वाल्क ओभर दिएको छ । बुधबार मंगल प्रसाद मावि र बालशिक्षाको खेल हुने तालिका रहेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहिबार पुरुषतर्फको खेलमा नेपालगन्ज–११ रकर्स विरुद्ध धारा मंगोलियन स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ नेपालगन्ज मोडेल एकेडेमी विरुद्ध त्रिभुवन स्कुल बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाण पत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

थप समाचार

नेपालगन्ज च्याम्प्स र होलिल्याण्ड विजयी