मंगोलियन र मोडेललाई सफलता


मंगोलियन र  मोडेललाई सफलता

नेपालगन्ज २५ माघ : मंगोलियन स्पोर्टस क्लब र नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार जित हासिल गरेका छन् ।

मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुषतर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज–११ रकर्सलाई ४ विकेटले पराजित गरेको छ । यसैगरी महिलातर्फको खेलमा नेपालगन्ज मोडेलले कोहलपुरको त्रिभुवन स्कुललाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज–११ का खेलाडी १०.२ ओभरमा ६५ रन बनाएर अलआउट भए । नेपालगन्ज–११ का लागि मोहित गुप्ताले २६ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन ।

वलिङ तर्फ मंगोलियनका प्लेयर अफ द म्याच मोहम्मद कामिलले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्चेका थिए । मंगोलियनकै साउद अन्सारीले ३ विकेट लिन सफल भए ।

जवाफमा ६६ रनको झिनो लक्ष्य पछयाँदै मैदानमा आएको मंगोलियनले ९.१ ओभरमा ६ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । मंगोलियनका लागि राजेन्द्र डाँगीले अविजित १९ रन बनाए । अफरोज खानले १४ रनको योगदान गरे ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज–११ का अबुजार हलवाईले २ विकेट लिन सफल भए । प्लेयर अफ द म्याच मोहम्मद कामिललाई तरुण दल बाँके अध्यक्ष विरेन्द्र शाहले पुरस्कृत गरे ।

यसैगरी महिलातर्फको खेलमा राष्ट्रिय टोलीकी पुर्व कप्तान नेरी थापाले ७१ रनको योगदान गरेपछि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ९४ रन बनाएको थियो । खेलमा सर्वाधिक रन बनाएकी नेरीले ४७ बलमा १४ चौका प्रहार गरेकी थिइन् । राष्ट्रिय टिमबाट खेलिसकेकी तृष्णा सिंहले अविजित ३२ रन र चमेली चौधरीले अविजित २१ रन बनाईन ।

त्रिभुवनका लागि निर्मला सिजापती र सुरुती बुढाले १–१ विकेट लिइन । जवाफमा त्रिभुवनले १६ ओभर खेल्दै अलआउट हुनु अघि ६० रन मात्र जोड्न सक्यो । त्रिभुवनका लागि ओपनर श्वेता सुवेदीले ९ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।

प्लेयर अफ द म्याच नेपालगन्ज मोडेलकी चमेलीले सर्वाधिक ५ विकेट लिईन । अलराउण्डर चमेलीले ४ ओभरमा १८ रन मात्र खर्चेकी थिइन । नेपालगन्जकी निरुपमा गिरीले २ विकेट लिईन । खेलमा प्लेयर अफ द म्याच चमेलीलाई नेपाली काँग्रेसका नेता सुदीप नरसिंह राणाले पुरस्कार वितरण गरेका थिए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

थप समाचार

फाल्कोन स्पोर्टस क्लब विजयी