नमस्ते सल्यान यातायातको बदमासी : जीप दुर्घटनाका घाईतेको उपचारमा बेवास्ता

प्रहरी प्रशासनले चासो दिएनन्, समिति र जीप मालिक सम्पर्कमा आउन छाडे : राजेश


नमस्ते सल्यान यातायातको बदमासी : जीप दुर्घटनाका घाईतेको उपचारमा बेवास्ता

नेपालगन्ज २७ माघ : सल्यानमा भएको जीप दुर्घटनाका घाईतेलाई समितिले उपचारमा बेवास्ता गरेपछि बिरामीको विचल्ली भएको छ । गत असोज १५ गते सल्यानको जिमालीबाट खैरावाङतर्फ जादै गरेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटना हुँदा १७ वर्षीया सुनिता बोहरा पुन घाइते भएकी थिइन् ।

दुर्घटनामा सुनितासहित उनका ६ जना आफन्तहरु घाईते भएका थिए । करिव १ सय मिटर तल खसेको उक्त दुर्घटनामा परेर २ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाईते भएका अन्य ब्यक्ति उपचार पश्चात निको भएपनि सुनिताको अवस्था अझै गम्भीर छ ।

सुनिताका श्रीमान राजेश पुनमगरले जीप धनी र नमस्ते सल्यान यातायात प्रालिले घाईतेको उपचारमा पुरै बेवास्ता गर्दा सबै उपचार खर्च आफुहरुले नै बेहोर्नु परिरहेको गुनासो गरे । श्रीमतीलाई भारतको लखनउमा ३ महिनासम्म उपचार गराउँदा १८ लाख र नेपालगन्जमा अहिले एक महिनादेखी उपचार गराइरहँदा २ लाख रुपैयाँ खर्च भइसकेको बताए ।

‘उपचार गरिदिन जीपको मालिक र समितिलाई हामीले बारम्बार भन्यौ, गाडीको साहु अहिले सम्पर्कमा आउन छाडिसक्यो, समितिले पनि बेवास्ता गरिरहेको छ,’ उनले भने । गम्भीर घाईते सुनिताको टाउकोमा गम्भीर चोट छ ।

Kids Festival 2022
kanti aarogya hospital

उनी बोल्न र मान्छेलाई चिन्न सक्दिनन् । अर्ध अचेत अवस्थामा रहेकी उनलाई परिवार र आफन्तले नेपालगन्जस्थित न्युरो अस्पतालमा भर्ना गरेका छन् । ‘प्राईभेट अस्पतालमा भर्ना गरेको हुँदा उपचारमा बढी पैसा खर्च भइरहेको छ,’ बिरामीका श्रीमान राजेशले भने ‘न बिरामीको अवस्थामा सुधार आएको छ, न त आर्थिक अवस्थाले धान्न सकेको छ, हामी के गरौं अन्यौलमा छौं ।’

श्रीमतीको उपचार गर्दा ऋणको ठुलो भारी बोक्नु परेको उनले दुखेसो पोखे । राजेशले भने, ‘कोही सहयोगी दाता भईदिए श्रीमतीको उपचारमा केही राहत मिल्ने थियो । सोही दुर्घटनामा परेर घाईते भएका बुवा, भाउजु, भतिज सहित आफन्तहरुले पनि समितिबाट उपचार नपाएर सम्पूर्ण खर्च आफै बेहोर्नु परेको सुनाए ।

घाइतेको उपचार नगर्ने जीपका मालिक र समितिलाई सल्यानको प्रहरी, प्रशासनले नै साथ दिएको पीडितहरुको गुनासो छ । ‘प्रहरी प्रशासनले चाहने हो भने जीपको मालिक र समितिले उपचार खर्च बेहोर्न बाध्य हुन्थ्ये, तर हामी गरिबका लागि बोलिदिन प्रहरी प्रशासनलाई चासो छैन,’ आफन्तले भने ।