गुण्डाको टाउको कुल्चिदिनुस्, दवाव दिदैनौं : डाक्टर राणा

शान्ति सुरक्षा, अपराध नियन्त्रण र सद्भाव कायम गर्न प्रहरी निर्मतापूर्वक लाग्छ : डिआइजी राई


गुण्डाको टाउको कुल्चिदिनुस्, दवाव दिदैनौं  : डाक्टर राणा

नेपालगन्ज २८ माघ : बाँके क्षेत्र –२ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य डाक्टर धवलशम्शेर राणाले गुण्डागर्दी रोक्न अलिकति टाउको उठाउने वितिक्कै गुण्डाको टाउको कुचिलिदिनुपर्ने बताएकाछन् ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै डाक्टर राणाले यस्तो बताएका हुन् ।

‘हाम्रो जिल्ला, शहरलाई असुरक्षित गर्न दिनु भएन’ डाक्टर राणाले भने–‘गुण्डागर्दी रोक्न अलिकति टाउको उठाउने वितिक्कै गुण्डाको टाउको कुचिलिदिनुपर्छ । यसो गरिएन भने समाजको शान्ति सुरक्षा र अवस्था भयावह हुन्छ ।’

आफू नेपालगन्जको मेयर हुँदा गुण्डागर्दी हुन नदिएको बताउँदै डाक्टर राणाले भने–‘गुण्डा, गुण्डा नै हो, त्यसलाई समयमै ठिक पार्नुपर्छ । क्रसरका गुण्डा, वसपार्कका गुण्डा, क्यासिनो गुण्डा सबैलाई तह लगाउनुपर्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘बदमासलाई बचाउने हाम्रो नियत हुदैन । तर, कहिलेकाही संयोगबस चुकिएला’ डाक्टर राणाले अगाडी थपे–‘हामी बाँकेलाई गुण्डा निषेध जिल्ला बनाऔं । गुण्डा र गुण्डागर्दी निस्तेज पार्न हामी कुनै पनि प्रकारका अनावश्यक दवाव दिदैनौं ।’

राणाले सीमापार अपराध नियन्त्रण जिल्लाको समग्र शान्ति सुरक्षासँग जोडिएको भन्दै सीमापार अपराधलाई प्रमुख चुनौतीको रुपमा लिनुपर्ने बताए । उनले भने,‘राजनीतिक नेतृत्वबाट प्रहरी प्रशासनलाई कुनै खालको अनावश्यक दबाब हुने छैन, तर प्रहरी आफु पनि ईमान्दार हुन आवश्यक छ ।’

पछिल्लो समय भारतीय पर्यटकको हबको रुपमा नेपालगन्ज फस्टाएको भन्दै भारतीय पाहुनाको सीमा क्षेत्रमा उचित सम्मान हुनुपर्नेमा उनले जोड दिए । राणाले समग्र बाँकेको विकास, आर्थिक समृद्धिका लागि सबै मिलेर लाग्नुपर्ने बताउँदै बाँकेको विविधतालाई एकता कायम राख्न सबैको जिम्मेवारी उत्तिकै भएको बताए ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) टेकप्रसाद राईले बाँकेको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण र सद्भाव कायम गर्न प्रहरी निर्मतापूर्वक लाग्ने बताए ।

‘मैले कुनै दवाव लिने छैन, कसैको प्रभावमा पर्ने छैन’ डिआईजी राईले अगाडी थपे–‘सानासाना अपराधबाट पछि संगठित अपराध जन्मने भएकाले नजरअन्दाज गर्न मिल्दैन । जिल्लाले सुरक्षा दिएन भने मलाई भन्नुस म दिलाउछु ।’

डिआईजी भएर जिम्मेवारी सम्हालेसंगै समग्र लुम्बिनी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रणमा उल्लेख्य सुधार गरेको बताउँदै डिआईजी राईले भने–‘बाँकेको विविधता जोगाई राख्न सबैको प्रमुख भूमिका हो । यसलाई व्यवस्थित गराई राख्नुपर्छ । नजरअन्दाज गरिए भने नतिजा जटिल हुन्छ ।’

डिआईजी राईले लागु औषध सबैतिर प्रमुख समस्याको रुपमा रहेको भन्दै सीमापार अपराधलगायत सबैखाले अपराध नियन्त्रणका लागि प्रहरीले सबैपक्षसँग हातेमालो गरि अघि बढ्ने बताए । प्रहरीभित्र गलत काम गर्ने जो भए पनि कारबाहीको भागिदार हुने भन्दै उनले लुम्बिनी प्रदेशमा अपराधको वर्गिकरण गरेर फागुनदेखि विशेष योजनासहित नियन्त्रण र न्यूनीकरणको काम थालिने बताए ।

परिचयात्मक कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाँकेको विविधता जोगाई राख्न हरसम्भव प्रयास गर्ने बताए ।

‘बाँके विविधताको संगम हो । यहाँ धेरै अवसर हुन्छ । तर, कहिलेकाँही जोखिममा हुन्छ । यो विविधता बचाई राख्न सबै लाग्नुपर्छ ।’ प्रजिअ आचार्यले भने–‘अधिकारसंगै कर्तब्य पालना भए सुशासन र शान्ति कायम हुन्छ ।’
प्रदेशसभा सांसद आदेश अग्रवालले खुला सीमाका कारण लागूऔषध प्रमुख समस्याको रुपमा देखिएको भन्दै नेपालगन्जमा अधिक रुपमा रहेका ई–रिक्साको ब्यवस्थापन जरुरी भएको बताए ।

प्रदेशसभा सदस्यद्वय भण्डारीलाल यादव र मिना श्रेष्ठले खुला सीमाका कारण हुने अपराध अन्य अपराधसँग पनि जोडिएका कारण प्रहरीले ईमान्दारिताका साथ काम गरेमा अन्य अपराध पनि स्वतः नियन्त्रणमा आउने धारणा राखे ।

यस्तै कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका प्रमुख प्रकाश शाही, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साह, जानकी गाउँपालिकाका प्रमुख छब्बन खाँ, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी, खजुरा गाउँपालिकाका उपप्रमुख मञ्जु मल्ल लगायतले प्रहरी र स्थानीय सरकारबीच नियमित समन्वय र सहकार्यमा मात्रै स्थानीय सरकारले उपलब्धीमुलक काम गर्न सक्ने धारणा राखेका थिए । सोक्रममा विभिन्न धर्मका धर्मगुरुहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।