घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीको जित


घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीको जित

नेपालगन्ज २ फागुन : घरेलु मैदानमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेको छ । कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज चाम्सलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालगन्ज चाम्सले २० ओभरमा १० विकेटको नोक्सानीमा ८० रनको झिनो योगफल तयार पारेको थियो । टोलीका लागि यसर्थ गुप्ताले २५ रन, आकास विष्टले १६ रन र रमेश सिंहले १५ रन जोडे ।
कोहलपुर स्पोर्टसका अजय सहानी र अबिनास बोहोराले ३–३ विकेट लिए । लुकास यादवले २ विकेट लिए । जवाफमा कोहलपुर स्पोर्टस एकेडेमीले ११.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो ।

कोहलपुरका लागि सन्दिप नेपालीले ३० रन, अनुपम सिंहले अविजित २९ रन र ओपनर दिपेन्द्र रावतले १० रन बनाए । नेपालगन्ज चाम्सका गोपाल जिसी, सुबास आर्चाय र क्रिस कार्कीले १–१ विकेट लिए । खेलमा कोहलपुर स्पोर्टसका अबिनास बोहोरो प्लेयर अफ द म्याच घोषित भए ।

यसैगरी मंगलबार पुरुष तर्फको अर्को खेलमा नेपालगन्ज मोडेल एकेडेमीले वाकओभर दिएको छ । ज्योती स्पोर्टस एकेडेमी र नेपालगन्ज मोडेल एकेडेमीको खेल हुने तालिका रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान खान पठानले बताए ।
खेल मैदानको अभावमा प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेकोछ ।

जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको भएपनि विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि मंगल प्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केही दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो ।

जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गरिएको हो । दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुुर मैदानमा भइरहेकाछन् । सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगलप्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको आयोजकले जनाएकोछ ।

थप समाचार

खेलमैदान अभावमा नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा