बाँकेका पर्यटन कार्यालयका तत्कालीन निर्देशक बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


बाँकेका पर्यटन कार्यालयका तत्कालीन निर्देशक बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज ८ फागुन : बाँकेको पर्यटन कार्यालयका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध एक लाख ५६ हजार ५५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद घिमिरेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बाजुराको काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप लागेको हो ।

पर्यटन विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएकोमा निर्देशक बुढाथोकीसहित तत्कालीन सव–इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव–इन्जिनियर दिपेश महताराले खप्तड लसके खानेपानी योजना निर्माण कार्य फिल्डमा भएकोभन्दा बढी काम र परिणाम देखाई झुट्टो कार्य सम्पन्न प्रतिवेदन तयार पारेको आरोप लागेको छ ।

यसैगरी, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाले पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको सर्त पालना नगरेको र गैरकानूनी लाभ लिन खोजेको आरोप लागेको आयोगले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सो योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीले अनुगमनका क्रममा फिल्डमा सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न भएको भनी गलत अनुगमन सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आरोपितहरुमथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको जरिवानाको सजाय हुन माग दाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।