भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश


भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश

नेपालगन्ज ९ फागुन : भेरी रकर्स नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा मंगलबार भएको खेलमा भेरी रकर्सले कोहलपुर स्पोर्टस एकेडेमीलाई ५ विकेटले हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

अब फाइनलमा भेरी रकर्सले शनिबार न्यु दर्पण युवाक्लब र ज्योति स्पोर्टस एकेडेमी (ए) बिचको विजेतासँग खेल्नेछ । शुक्रबार प्रतियोगिताको दोस्रो सेमिफाइनल न्यु दर्पण युवाक्लब र ज्योति स्पोर्टस एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी शनिबार नै मंगल प्रसाद उच्चमाविको मैदानमा नेपालगन्ज उपमेयर कप महिला क्रिकेटको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमी र होलिल्याण्ड स्कुल बिचप्रतिस्पर्धा हुनेछ । मंगलबार मंगल प्रसाद उच्च मावि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कोहलपुर स्पोर्टस एकेडेमीले १७.५ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ४ रन बनायो ।

कोहलपुरका दीपेन्द्र रावतले ३७ रन, लुकास यादवले अविजित १३ रन, ओपनर बिनायक गिरीले १२ रन र अस्मित शाहीले ११ रन बनाए । टोलीका महत्वपुर्ण खेलाडीका रुपमा मानिएका अविनाश बोहोरा पहिलो बलमै साहिद अन्सारीको बलमा बोल्ड हुनपुगेका थिए । भेरी रकर्सका लागि सुरज दासले ४ विकेट, साहिद अन्सारीले ३ विकेट लिए ।

Kids Festival 2022
kanti aarogya hospital

जवाफमा भेरी रकर्सले १७.५ ओभरमा ५ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । रकर्सका लागि सदाब अन्सारीले सर्वाधिक ४३ रन, ओपनर साहिद अन्सारीले २६ रन र सलमान शेखले अविजित १३ रनको योगदान गरे ।

कोहलपुर स्पोर्टस एकेडेमीका धनबहादुर थापा र दीपेन्द्र रावतले २–२ विकेट लिए । खेलमा रकर्सको तर्फबाट अलराउण्डर प्रदर्शन गर्ने साहिद अन्सारी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अन्सारीलाई जसपाका केन्द्रिय सदस्य सबीतबासुम अन्सारी, लुम्बिनी प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादव र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२० अध्यक्ष कौशलकुमार धोवीले पुरस्कृत गरे ।

यसैगरी मंगलबार भएको अर्को खेलमा न्यु दर्पणले मंगल प्रसाद उच्च माविको टिमलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १९.४ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ८५ रन बनाएको थियो । टोलीका लागि विशाल पौडेलले ४२ रन, प्रेम सुनारले २९ रन, नितिन रानाले १९ रन र गजेन्द्र वलीले १७ रन बनाए ।

मंगल प्रसादका बलर करण बानियाले सर्वाधिक ४ विकेट, सुबास धोवी र दानिस शेखले २–२ विकेट लिए । १ सय ८६ रनको लक्ष्य लिएर मैदानमा आएको मंगलप्रसादले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४५ रन मात्र बनाउन सक्यो । टोलीका लागि पंकज बर्माले २९ रन, करण बानियाले अविजित २३ रन, शिव सोनकरले २२ रन र ओपनर सागर केवटले १७ रन बनाएका थिए । न्यु दर्पणका रमेश भण्डारीले ३ विकेट र प्लेयर अफ द म्याच नितिन रानाले २ विकेट लिन सफल भए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।

थप समाचार

भेरी रकर्स र कोहलपुरको सहज जित